राष्ट्र बैंक नै गैरजिम्मेवार हुदा देश दुर्घटना उन्मुख भयोः प्रदीप यादव
काठमाडौं— जसपा सांसद प्रदीप यादवले राष्ट्र बैंक नै गैरजिम्मेवार हुदा देश दुर्घटना उन्मुख भएको बताएका छन् ।
संसद्मा प्रधानमन्त्रीले विश्वासको मत माग्ने प्रस्तावमा छलफल गर्दै सांसद यादवले राष्ट्र बैंकको नेतृत्व स्वतन्त्र नहुँदा अर्थतन्त्रमा समस्या आएको बताए । “सभामुख महोदय, देशको अर्थतन्त्रलाई ट्र्याकमा हिँडाउने काम राष्ट्र बैकको हो । यसले ठिकसँग काम गर्न सके मात्र अर्थतन्त्र ठिक बाटोमा हिँड्न सक्छ,” यादवले भने, “तर, राष्ट्र बैंक नै स्वतन्त्र छैन । एउटा पक्षलाई पक्षपोषण गर्ने राष्ट्र बैंकका कारण देश आर्थिक संकटमा छ ।”
उनले अहिले बैंकहरुले ब्याज घटाएर सहुलियत दिनुपर्ने अवस्था रहे पनि राष्ट्र बैंकले सही दिशानिर्देश नगर्दा ब्याज घट्न नसकेको बताए । “ब्याजदर नघट्ने र व्यवसाय पनि नचल्ने अवस्थाले व्यवसायीहरु आत्महत्या गर्ने अवस्था आएको छ,” यादवले भने, “यो अवस्था अन्त्यका लागि दलहरुबीच सहकार्य र सरकारबाट ठोस कदम चाल्न जरुरी छ ।”