माछापुच्छ्रे बैंकले ल्यायो नयाँ अफर, अब पेट्रोलको पैसा नगदमा होइन डिजिटल

मंगलबार, ७ चैत्र २०७९

काठमाडौं— माछापुच्छ्रे बैंक लि. ले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन सँग डिजिटल भुक्तानी सेवा प्रदान गर्ने तथा सचेतना कार्यक्रम सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौतामा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको तर्फबाट अध्यक्ष लिलेन्द्र प्रसाद प्रधान तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन्। उक्त हस्ताक्षर कार्यक्रममा बैंकका उच्च पदस्थ अधिकारी एंव पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो ।

सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै बैंकले सम्झौता पश्चात नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन सँग आवद्ध पेट्रोल पम्पहरुले POS, QR,लगायत अन्य डिजिटल भुक्तानी उपकरणको प्रयोग गरि ग्राहकलाई बिक्री गरेको तेल खरिदको भुक्तानी डिजिटल प्लेटफर्म मार्फत सरल र विश्वासिलो तरिकाले लिने सुविधा प्रदान गरेको छ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै माछापुच्छ्रे बैंक लि. का प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले Green Economyलाई  टेवा पुर्याउने बैंकको रणनीति अनुरुप बैंकले विभिन्न संघ संस्थाहरु संग समन्वय गरि डिजिटल कारोबारहरुको सम्झौता गरिरहेको जानकारी दिएका छन् । साथै उहाँले वास्तविक रुपमा डिजिटल्ली स्र्माट बैंक बन्ने दीर्घकालिन लक्ष्यका साथ बैंकले परिमार्जित र परिस्कृत डिजिटल सेवा सुविधाहरु तथा सचेतना कार्यक्रमहरु आफ्ना ग्राहकलाई प्रदान गरिरहेको कुरा पनि बताए ।

त्यस्तैगरी नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानले देशको वार्षिक झण्डै २ खर्वको तेल खरिद बिक्री कारोबारलाई डिजिटल कारोबारमा आवद्ध गराउन माछापुच्छ्रे बैंकको पहलले समग्र अर्थतन्त्रको डिजिटल कारोबारमा सहयोग पुग्ने धारणा व्यक्त गरे । साथै उहाँले पेट्रोलियम पदार्थको बिक्रि गर्ने विक्रेता एंव खरिद कर्ता दुवै पक्षले QR कोड तथा अन्य डिजिटल माध्यमहरु खोज्ने हुदाँ बैंकसंगको सम्झौता पश्चात सहज र सरल रुपमा सेवाग्राहीलाई डिजिटल भुक्तानी सेवा पुग्नेमा आफु विश्वस्त रहेको बताए ।