लोकतन्त्रमा यो वा त्यो बाहनामा व्यक्तिगत फोन ट्याप गर्ने कुरा स्वीकार्य हुदैनः शेखर कोइराला

बुधबार, ८ चैत्र २०७९

काठमाडौं— नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य शेखर कोइरालाले लोकतन्त्रमा यो वा त्यो बाहनामा नित्तान्त व्यक्तिगत फोन ट्याप गर्ने कुरा स्वीकार्य नहुने बताएका छन् । उनले विधेयकबारे समाचारहरू आएपछि बुधबार नेता कोइरालाले सामाजिक सन्जालमार्फत सरकारले व्यक्तिगत फोन ट्याप गर्ने कुरा स्वीकार्य नहुने बताएका हुनन् ।

उनले विगतमा विरोधका कारण रोकिएको विधेयक अहिलेको सरकारले फेरि अगाडि बढाउन लागेको भन्दै यसले सरकारको नियतमाथि प्रश्न उठेको पनि बताए । ‘लोकतन्त्रमा यो वा त्यो बहानामा नित्तान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन । विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि बढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छ,’ उनले भने, ‘राष्ट्रिय सुरक्षासँग जोडिने यस्ता कार्यप्रति दल, मानवअधिकारकर्मी, नागरिक समाज र प्रेस जगत्‌को समेत ध्यान जाओस् ।’

विगतमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ०७६ को साउनमा पनि नागरिकको गोपनीयता सरकारको निगरानी र नियन्त्रणमा रहनेगरी विधेयकको मस्यौदा तयार गरिएको थियो । तत्कालीन प्रतिपक्षी कांग्रेसलगायतका राजनीतिक दल र नागरिक समाजबाट चर्को विरोध भएपछि विधेयक रोकिएको थियो ।अहिले कांग्रेससहितको गठबन्धन सरकारले अझै स्पष्ट व्यवस्था गर्दै विधेयक ल्याउने तयारी रहेको छ । तर सत्ता गठबन्धनकै नेताहरू र सांसदहरुले यसको विरोध थालेका छन् ।