गत असोजदेखि यतामात्र बजारमा घट्यो एक खर्ब पैसा

शनिबार, ११ चैत्र २०७९

काठमाडौँ – पछिल्लो पटक बजारमा तरलता अभाव गहिरिँदै जाँदा गत असोजदेखि यतामात्र बजारमा एक खर्ब घट्यो पैसा घटेको छ । उद्योग व्यवसायी तथा व्यापारीहरूले, राजनीतिज्ञले वा सर्वसाधारण जनताले बैंकमा नभएर पैसा घरमै राखिदिँदा क्यास साइकल (पैसाको चक्र) मा नै प्रभाव परी तरलता अभावको सिर्जना भएकाले बजारमा एक खर्ब घटेको हो ।

पछिल्लो तथ्याङ्कअनुसार ६ खर्ब २८ अर्ब रुपैयाँ क्यास बजारमा चलनचल्तीमा रहेको छ । यो अघिल्लो वर्षको तुलनामा १५.९२ प्रतिशतले कमी हो । आर्थिक वर्ष २०७८र७९ को असोज ३१ मा यस्तो नगद प्रवाह बजारमा ७ खर्ब २८ अर्ब रुपैयाँ चलनचल्तीमा रहेको थियो । तर यो क्रमशः घट्दै ६ खर्ब २८ अर्ब रुपैयाँमा झरेको छ । यद्यपि यो पूर्णरूपमा सिस्टम बाहिरको पैसा भने होइन ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार  ‘बैङ्किङ सिस्टमा आउजाउ गरिरहेको पैसा नै चलनचल्तीको पैसा हो । दुई चार करोड, अर्ब रुपैयाँ तलमाथि हुनु स्वाभाविकै हो । तर यसैलाई आधार मानेर बजारमा पैसा होल्ड भयो, लुकाइयो भन्न नमिल्ने बताए । बरु पछिल्लो समय बजारमा तरलता सहज हुँदै गएको अवस्थामा धमाधम पैसा बैंकमा फर्किरहेको बुझिने उनको भनाइ छ ।

‘पैसा हरायो कि हराएन, लुकाइयो कि लुकाइएन ? यो अर्को पाटो हो तर हामीले हेर्ने भनेको बजारमा तरलता सहज छ कि छैन भन्ने हो । वित्तीय बजारका तीन चारवटा सूचकले क्रमशः तरलता सहज हुँदै गएको पाउँछौँ । ठूलो परिमाणले घटेको अन्तरबैंक ब्याजदर, बैंकहरूको कर्जा सापटीको दर र सीडी रेसियोले यो देखाउँने ’ प्रवक्ता भट्टको भनाइ थियो ।

उसो त पछिल्लो पटक ८.५ प्रतिशत पुगेको अन्तरबैंक ब्याजदर घटेर अहिले ७ प्रतिशतमा झरेको छ । यस्तै बैंकहरूले केन्द्रीय बैंकसँग लिने कर्जा सापटी एसएलएफ, एसएलआर दुवै घटेको अवस्था छ । दैनिक÷ओभरड्राफ्ट÷ओभरनाइट सुविधा घटेर १८–२० अर्बमा झरेको छ भने बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पुस मसान्तसम्ममा ८६.५३ प्रतिशत कायम भएको छ ।

दुई महिनाअघिसम्ममा ९० प्रतिशत माथि पुगिसकेको सीडी रेसियो ८६ प्रतिशत कायम हुनुले बजारमा तरलता निकै सहज अवस्थामा छ भन्ने देखाउने प्रवक्ता भट्टको भनाइ छ । तर केही असहज वातावरणका बीच पछिल्लो समय बैंकहरूले कर्जा लगानीमा सजगता अपनाउँदा आम उपभोक्ता ऋणीहरूले पनि ब्याजदर घट्ने आशामा ‘वेट एन्ड सी’को अवस्थामा बसिदिँदा बैंकमा तरलता थुप्रिन पुगेको उनको भनाइ छ । केन्द्रीय बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थामा ७ अर्ब रुपैयाँभन्दा बढी तरलता थुप्रिएको छ ।