चितवन २ मा रविसंग भिड्न एमालेले अघि सार्यो उम्मेदवार
काठमाडौँ – चितवन २ मा रविसंग भिड्न एमालेले उम्मेदवारको नाम सिफारिस गरेको छ। चितवनमा आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई अघि सारेको हो ।
एमाले जिल्ला कमिटीको आज बसेको बैठकले जिल्ला अध्यक्ष न्यौपानेलाई उम्मेदवाको रुपमा अघि बढाउने गर्ने निर्णय गरेको छ। न्यौपानले गत मंसिर ४ गतेको निर्वाचनमा चितवन क्षेत्र नं_ ३ बाट एकल सिफारिस भएर पनि उम्मेदवार बन्न पाएका थिएनन् ।
एमालेले चितवन क्षेत्र नं- ३ मा कांग्रेसका विद्रोही उम्मेदवार दिनेश कोइरालालाई सर्मथन गरेपछि न्यौपानेको उम्मेदवारी पार्टी केन्द्रले माथिबाट नै तानिदिएको थियो ।
एमाले विद्यार्थी संगठन अनेरास्ववियूमा आवद्ध भएर २०५३ सालदेखि नै पूर्णकालिन भएका न्यौपाने युवा नेता मानिन्छ ।
२०५५ साल र २०५६ साल गरी दुई पटक अनेरास्ववियुको जिल्ला अध्यक्ष बनेका न्यौपाने २०५७ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य र नारायणी अञ्चल इन्चार्ज भएका थिए । उनी २०७८ पुसमा एमालेको चितवन जिल्ला अध्यक्ष भएका थिए ।
चितवन(२ बाट २ पटक जितेका संविधान सभाका सदस्य कृष्णभक्त पोखरेल नउठ्ने भएपछि न्यौपानेले अगाडि सरेका हुन् ।
बैशाख १० गतेको निर्वाचनमा कांग्रेससहितको सत्ता गठवन्धनबाट कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने उम्मेदवार बन्ने पक्का जस्तै बनेको छ ।