संसद सचिवालयले गर्यो सभामुखको अधिकार कटौती नगर्ने सहमति
काठमाडौँ – हिजो संसद सचिवालयमा भएको छलफलमा सभामुखको अधिकार कटौती नगर्ने सहमति भएको छ । आज दिउसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अधिकार कटौती सम्बन्धी प्रस्ताव पारित गर्ने तयारीकाबीच हिजै छलफल गरेर संसद सचिवालयले सभामुखको अधिकार कटौती नगर्ने सहमति गरेको हो ।
आजको बैठकमा चारवटा सम्भावित कार्यसूची रहेको संसदका महासचिव भरतराज गौतमले जानकारी दिए ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन पेश गर्नेछन् ।
त्यसैगरी प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले मस्यौदा प्रतिवेदनमाथि दफावार छलफलको लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । प्रस्तावमाथि दफावार छलफल गरेपछि बैठकमा निर्णयार्थ प्रस्तुत गरिने जनाइएको छ ।
तर हिजो संसद सचिवालयमा भएको छलफलमा सभामुखको अधिकार कटौती नगर्ने सहमति भएको छ । सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, केही प्रतिनिधि तथा संसद सचिवालयका अधिकारीहरुबीच भएको वार्तामा सभामुखको अधिकार कटौती गर्न दर्ता गरिएको संशोधन फिर्ता लिने र कार्यव्यवस्था समिति बैठक नियमित रुपमा बोलाउने सहमति भएको बताइएको छ ।
