प्रचण्डको काम नै जाति-जातिकाबीच भिडन्त गराउने हो: ओली

आइतबार, १९ चैत्र २०७९

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डपथको काम जाति-जातिका बीचमा भिडन्त गराउने भएको आरोप लगाएका छन् ।

आइतबार काठमाडौँमा पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा सुरु भएको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले प्रचण्डपथको काम जातिजातिमा भिडाउने भएको आरोप लगाएका हुन् ।

उनले एमालेले चलाएको मिसन ग्रासरुट अभियान पार्टी जनतासम्म पुग्नका लागि भएको भन्दै जनता र कार्यकर्तामा सही विचार पुर्याउन जरुरी भएको बताए । ओलीले अन्तर्घाती चरित्र एमाले चरित्र हुन नसक्ने भन्दै प्रचण्डपथको काम जातिजातिमा भिडाउने भएको तर एमालेले सबै जातिलाई एकताबद्ध बनाउने काम गरिरहेको बताए ।

‘देशलाई अस्थिरता, अन्यौल र दिशाहिनताबाट जोगाएर सही बाटोमा लैजान अबको समय खेर जान नदिएर हामी एउटा सबल राष्ट्रिय शक्तिका रुपमा अघि बढ्नुपर्छ’अध्यक्ष ओलीको भनाइ छ ।

उनले एमालेको सम्पूर्ण शक्ति सुदृढ र सबल राष्ट्रिय शक्ति निर्माणमा खर्चिनुपर्ने बताए ।