जसपाका नेताकार्यकर्ता आन्दोलनमा उत्रिए
काठमाडौं— जनता समाजवादी पार्टी (जसपा)का नेताकार्यकर्ता आन्दोलनमा उत्रेका छन् । आफ्ना नेतालाई कुटपिट गरेको भन्दै राजविराजमा जसपा)का नेताकार्यकर्ता आन्दोलनमा उत्रिएका हुन् ।
जसपाका जिल्ला अध्यक्ष केदार यादवलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी निरीक्षक नवीन थापाले कुटपिट तथा दुर्व्यवहार गरेको आरोप उनीहरुको छ । थापालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी जसपा नेता कार्यकर्ताले टायर बालेर प्रदर्शन गरिरहेका छन् । एउटा घटनाको विषयमा बुझ्न जाँदा नशामा रहेका प्रहरी निरीक्षक थापाले आफूलाई कुटपिट गरेको यादवले बताएका छन् ।
घाइते नेता यादवको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको छ । सप्तरीका प्रहरी प्रवक्ता नरेश कुमार सिंहले प्रहरी निरीक्षकबाट सामान्य त्रुटि भएको हुन सक्ने भन्दै त्यसैका कारण जसपा नेताकार्यकर्ता आन्दोलनमा उत्रेको पुष्टि गरे ।