न्यायाधीश हरि फुयाँलको इजलासमा पुग्यो रवि लामिछानेविरुद्धको मुद्दा
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पुगेको छ । मंगलबार न्यायाधीश अनिल सिन्हाको इजलासमा परेको रिट हेर्न नमिल्ने भएपछि आज फुयाँलको इजलासमा पुगेको हो ।
रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित युवराज सफल भन्ने युवराज पौडेलले सोमबार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
यसअघि प्रहरी प्रतिवेदनका आधारमा महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । तर राहदानी दुरुपयोगजस्तो गम्भीर विषयमा मुद्दा नचलाउने निर्णय गरेर सरकारले संविधानकै उल्लङ्घन गरेको भन्दै पौडेल रिट बोकेर सर्वोच्च अदालत पुगेका थिए । आइतबार नै रिट निवेदन लिएर गएपछि सर्वोच्च अदालतले अध्ययनपछि सोमबार मात्रै उक्त रिट दर्ता गरेको थियो ।
पौडेलले मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध महान्यायाधिवक्ता कार्यालयका साथै जिल्ला प्रहरी परिसर काठमाडौँ, अध्यागमन विभाग, प्रहरी प्रधान कार्यालय, रवि लामिछाने समेत ८ व्यक्ति तथा निकायलाई विपक्षी बनाएका छन् ।
सोमबार मात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका लामिछानेविरुद्ध सोमबार नै सर्वोच्चमा रिट दर्ता भएको थियो । रिट निवेदनमा लामिछानेलाई उम्मेदवार बन्न नदिन अन्तरिम आदेशको मागसमेत गरिएको छ । अदालतले रविविरुद्धको मुद्दामा अन्तरिम आदेश जारी गरिदिएमा उनको उम्मेदवारी समेत स्वतः खारेज हुनेछ । अन्तरिम आदेश दिन अस्वीकार गरेको अवस्थामा भने उम्मेदवारी कायम भई निर्वाचनमा सहभागी हुन पाउनेछन् ।