सरकारको न्युनतम साझा कार्यक्रम ‘कागजी घोडामात्रै भएको राप्रपाको टिप्पणी

शुक्रबार, २४ चैत्र २०७९

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  का प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सरकारले सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रम ‘कागजी घोडा’मात्रै भएको टिप्पणी गरेका छन्।

राप्रपाका प्रवक्ता श्रेष्ठले सरकारले सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रम अपूर्ण र भ्रम छर्ने खालको ‘क्वाँटी’ दस्तावेज भएको भन्दै  यस्तो टिप्पणी गरेका हुन्।

बिहीबार सत्ता गठबन्धनका शीर्ष नेताहरूसहितको उपस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रमले समस्याको पहिचान गर्न नसकेको प्रवक्ता श्रेष्ठले बताएका छन्।

‘अकारण अघिल्लो सत्ता गठबन्धन बदलेर अस्थिरताको मार्गतर्फ अघि बढेको प्रचण्ड नेतृत्वको सरकारले सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रम समस्याको पहिचान गर्न असफल, यथास्थितिमा बदलाव ल्याउन अपूर्ण, भ्रम छर्ने खालको र भागवण्डाको कार्यक्रमको रुपमा मात्रै सीमित रहने क्वाँटी दस्तावेज हो,’ प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘देशले चरम आर्थिक संकट बेहोरिरहेको त्रासदीपूर्ण अवस्थामा सरकारले आफ्नो न्युनतम साझा कार्यक्रम मार्फत जनतामा आशा, विश्वास र भरोसा पैदा गर्न सकेन।’

अघिल्लो गठबन्धनका कतिपय सकारात्मक विषयलाई पनि पूर्वाग्रही ढंगबाट उपेक्षा गरिएको उनले टिप्पणी गरेका छन्।