रास्वपाका सांसद श्रेष्ठको अडियोमाथि भ्रष्टाचारको आरोप आकर्षित, अख्तियारले छानबिन गर्ने
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा: ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यान आकर्षण भएको छ।
सांसदहरु सार्वजनिक पदमा बसेका व्यक्ति हुन् । सार्वजनिक पदमा बसेकाहरुले पैसा मागेमा त्यसलाई घुसका रुपमा लिइन्छ र यसमा भ्रष्टाचारको आरोप आकर्षित हुने भन्दै अख्तियारको ध्यान आकर्षण भएको हो ।
अख्तियार उच्च स्रोतका अनुसार ‘त्यो अडियोसहित सञ्चारमाध्यमहरुमा प्रकाशित समाचार हाम्रो नोटिसमा लिएका छ । उक्त समाचार उजुरीको रुपमा दर्ता भइसकेको समेत बुझिएको छ ।
श्रेष्ठले पार्टी सभापति रवि लामिछानेको टिमलाई दिनुपर्ने भन्दै व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो ।
सामान्यतयाः अख्तियारले गैरकानूनी लेनदेन, घुस लगायतका उजुरीमा प्रहरी महाशाखा अन्तर्गत जिम्मेवारी तोक्छ ।
आफूकहाँ आइपुगेका उजुरीहरु केलाउन अख्तियारले सचिवको संयोजकत्वमा सबै महाशाखाका प्रमुखहरु रहेको उजुरी छनौट समिति (स्कृनिङ टि) गठन गरेको हुन्छ । हप्ताको तीन दिन त्यो समितिको बैठक बस्छ । अख्तियारस्रोतका अनुसार, त्यो बैठकबाट निर्णय भएमा यो मुद्दाको पनि अनुसन्धान अघि बढ्ने छ ।