रेनु दाहालले नेतृत्व गरेको भरतपुर महनगरपालिकाको बेरुजु देशकै सबैभन्दा कम

शुक्रबार, १ बैशाख २०८०

काठमाण्डौ – देशका अन्य पालिकाभन्दा भौतिक पूर्वाधारमा अग्रणी देखिएको भरतपुर महनगरपालिका बेरुजुमा देशकै सबैभन्दा कम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६० औँ प्रतिवेदनमा छवटा महानगरमा सबैभन्दा कम बेरुजु भरतपुरको रहेको उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा पनि भरतपुर महानगरको बेरुजु अन्य महानगर पालिकाको भन्दा कम देखिएको हो ।

आर्थिक वर्ष २०७८र७९ को प्रतिवेदनमा भरतपुरको बेरुजु शून्य दशमलव ०८ प्रतिशत रहेको छ । पेश्कीबाहेकको यो बेरुजु सबैभन्दा बढी वीरगन्जको सात दशमलव ९४ प्रतिशत, काठमाडौँको एक दशमलव ४५ प्रतिशत, विराटनगरको तीन दशमलव ५८ प्रतिशत, ललितपुरको दुई दशमलव २२ प्रतिशत र पोखराको पाँच प्रतिशत रहेको छ । पेश्कीबाहेक बेरुजुमा अघिल्लो वर्ष भरतपुरको शून्य दशमलव २५ प्रतिशत रहेको थियो ।

लेखा परीक्षणको तुलनामा बेरुजु प्रतिशत भरतपुरको शून्य दशमलव ०९ प्रतिशत छ भने सबैभन्दा बढी वीरगन्जको नौ दशमलव १२ प्रतिशत रहेको छ । त्यस्तै विराटनगरको तीन दशमलव ९२, काठमाडौँको दुई दशमलव ६०, ललितपुरको सात दशमलव ०४ र पोखराको पाँच दशमलव ५४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७७र७८ मा भरतपुरको बेरुजु शून्य दशमलव ५६ प्रतिशत रहेको थियो ।

सो आर्थिक वर्षमा पनि भरतपुरको बेरुजु सबैभन्दा कम थियो । त्यस वर्ष विराटनगरको सबैभन्दा बढी १७ दशमलव ५७ प्रतिशत, वीरगन्जको नौ दशमलव ८० प्रतिशत, ललितपुरको आठ दशमलव ०६ प्रतिशत, काठमाडौँको पाँच दशमलव ४० प्रतिशत र पोखराको ५ दशमलब ३५ प्रतिशत रहेको थियो ।

प्रतिवेदनमा उल्लेख भएअनुसार बेरुजुमध्ये पेश्कीसहितको बेरुजु रकम विराटनगरको रु २२ करोड ९५ लाख, वीरगन्जको रु ६७ करोड ७८ लाख, काठमाडौँको रु ६६ करोड १९ लाख, ललितपुरको रु ६१ करोड ९० लाख तथा पोखराको रु ७० करोड ६५ लाख छ भने भरतपुरको रु ६६ लाख मात्र छ । गत वर्ष विराटनगर महानगरपालिकाको लेखा परीक्षणको रकम रु पाँच अर्ब ८५ करोड ३३ लाख, वीरगञ्जको रु सात अर्ब ४३ करोड ४९ लाख, काठमाडौँको रु २५ अर्ब ४१ करोड ८८ लाख, ललितपुरको रु आठ अर्ब ७९ करोड ७९ लाख, भरतपुरको रु छ अर्ब ९६ करोड २६ लाख र पोखराको रु १२ अर्ब ७४ करोड ७५ लाख रहेको थियो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पछिल्ला हरेक वर्षमा महानगरपालिकाको बेरुजु कम हुँदै गएको बताइन् । ऐन, नियम र मापदण्डको पूर्णपालना गरिएको, उपभोक्ता समितिलाई पेश्की दिने कार्यमा कडाइ गरिएको र बेरुजु फछ्र्यौटमा विशेष जोड दिएकै कारण अन्य महानगरपालिकाभन्दा भरतपुरको बेरुजु निकै कम भएको उनले बताइन् । गतिशील, पारदर्शी एवं स्वच्छ नेतृत्व र लेखा समितिको क्रियाशीलताका कारण न्यून बेरुजु आएको दाहालले जानकारी दिइन् ।

भरतपुर महानगरपालिकाले बेरुजु फछ्र्यौटका लागि अभियान नै सञ्चालन गरिरहेको उनको भनाइ थियो । जसको लागि सम्पर्क व्यक्ति तोकी बेरुजु फछ्र्यौटको काम गर्दै आइएको छ । आगामी दिनमा बेरुजु फछ्र्यौट केन्द्र स्थापना गरी अगाडि बढ्ने महानगरपालिका प्रमुख दाहालले बताइन् । विगत आर्थिक वर्षको सबै बेरुजुलाई फछ्र्यौट गर्दै जाने महानगरपालिकाले जनाएको छ ।

उनले भनिन्, “जवाफदेहीता, पारदर्शिता र आर्थिक मितव्ययितामा हामी प्रतिबद्ध छौँ ।” सुशासनमा ध्यान दिँदै जनताको मन जितेर विकासमा महानगर जुटेको भन्दै महानगरप्रमुख दाहालले छिटो–छरितो सेवा प्रवाहमा महानगर लागेको जानकारी दिइन् ।