सत्तामा रहेका नेताले जनताको पिडा बुझेनन्, दुःखि जनताको साहारा हामी बन्छौं : विकिरण सी
बागलुङ – नेपाल कम्युनिष्ट पार्टीले ७५ औं स्थापना दिवस साता व्यापि मनाइरहेको छ । नेपाल कम्युनिष्ट पार्टी धौलागिरी व्युरोले धौलागिरी क्षेत्रका जेष्ठ कम्युनिस्ट नेतालाई सम्मान गर्दै नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवस मनाएको छ ।
सोमबार बागलुङमा आयोजित एक कार्यक्रमका विच धौलागिरि क्षेत्रमा रहेर कम्युनिस्ट आन्दोलमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै ९ जना जेष्ठ कम्युनिष्ट नेतालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा म्याग्दीको बेनी नगरपालिका ६ का ध्रुर्व लाल सी, मालिका गाउँपालिका ३ म्याग्दीका फिल्टर सी, म्याग्दीको बेनी नगरपालिका २ का चन्द्र बहादुर घिमिरे, बागलुङको ताराखोला गाउँपालिका २ का अमृत घर्ति मगर, बागलुङ नगरपालिका ३ का लालचन्द्र राजभण्डारी, हरिहर श्रेष्ठ बागलुङ नगरपालिका ७ का नर बहादुर घमाल, बागलुङ नगरपालिका १२ का दल बहादुर खड्का, बागलुङको निसीखोला गाँउपालिका ७ का प्रेम बहादुर कुवँर रहेका छन् ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य तथा धौलागिरी ब्यूरो इन्चार्ज विकिरण सीले सत्तामा रहेका नेताले जनताको दुःख नबुझ्ने बताए । पुँजीवादी व्यवस्थाले गर्दा देश झन झन कम्जोर हुदै गएको भन्दै नेपालका विभिन्न कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गरेपनि जनताको दुःख बुझ्न नसकेको बताए ।
उनीहरुले पटक–पटक सरकारको नेतृत्व गरेपनि आफ्नो स्वार्थ र व्यक्तिगत रुपमा सुखी जीवन बिताउन मै व्यवस्त भएर जनताको पिडालाई विर्सिएको जिकिर गरे । ‘आफ्नो छोराछोरीलाई विदेश पढ्न पठाउने, आफू करोडौंको गाडीमा हिड्ने, जनताको दुःख पीडा जहाँको त्यही छ ।’, उनले भने ।
नेपाल कम्युनिस्ट पार्टी दुःखि गरिबको सहारा बन्ने भन्दै यसका लागि आफ्नो पार्टीलाई सहयोग गर्न सबैलाई अपिल गरे । ‘गरिब जनताको पीडा र देशमा देखिएको भ्रष्टाचार विकृतिहरुलाई हटाउन, देश परिवर्तनका लागि क्रान्तिको आवश्यकता भएको छ । अबको क्रान्तिमा सबै एकजुत भै अघि बढनु पर्नेछ । त्यसमा हामीलाई जनताको भरपुर सहयोग चाहिन्छ ।’, सभालाई सम्बोधन गर्दै उनले भने ।
विकिरणकै अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बागलुङ इन्चार्ज क्रन्तिले स्वागत गरेका थिए भने म्याग्दी इन्चार्ज उषा सीले संचालन गरेका थिए ।