जबराविरुद्धको महाभियोग निष्क्रिय गर्ने महासचिवको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

बुधबार, ६ बैशाख २०८०

काठमाडौं— पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरुद्धको महाभियोग निष्क्रिय गर्ने संसद् सचिवालयका महासचिवको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदै छ ।

अघिल्लो संसद्को कार्यकाल सकिए सँगै मंसिर २० गते जबराले आफूविरुद्ध दायर भएको महाभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै संसद् सचिवालयमा निवेदन दायर गरेका थिए । सो निवेदनको माग सम्बोधन गर्दै महासचिवले महाभियोग निष्क्रिय भएको पत्र मंसिर २१ गते जारी गरेका थिए । महासचिवको पत्र सर्वोच्च अदालत प्रशासनमा पेस भएसँगै सोहि दिन सर्वोच्च अदालत बार एशोसियसनका पदाधिकारीहरूले संयुक्त रुपमा पत्र असंवैधानिक भएको भन्दै रिट दायर गरेका थिए ।

रिटमा मंसिर २२ गते सुनुवाइ गर्दै महासचिवको पत्र तत्काल कार्यन्वयन नगर्न संवैधानिक इजलासबाट अन्तरिम आदेश जारी भएको थियो । अन्तरिम आदेश जारी भएपछि सो रिटमा पहिलो पटक सुनुवाइ तोकिएको हो ।
रिटमा २२ गते अन्तरिम आदेश जारी भएको थियो भने २७ गते जबराले उमेर हदका कारण अनिवार्य अवकाश लिएका थिए ।