खेल क्षेत्रकालागि कोशी प्रदेशमा पनि ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम सुरु
काठमाण्डौँ – खेल क्षेत्रमा विद्यार्थीहरूलाई आबद्ध हुन प्रोत्साहित गर्ने उद्देश्यका साथ कोशी प्रदेशमा पनि स्कुल टु ओलम्पिक कार्यक्रम सुरु भएको हो । सातवटै प्रदेशमा आयोजना गर्ने लक्ष्य सहित गत पुस ११ गते सुदूरपश्चिम प्रदेशबाट सुरु भएको कार्यक्रम सोमबारदेखि इटहरीमा सुरु भएको छ।
कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स संघको संयोजनमा सुरु भएको बोर्डका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए । कार्यक्रममा कोशी प्रदेशका १४ जिल्लाबाट छानिएर आएका सामुदायिक र निजी विद्यालयका विधार्थीहरूसँग ओलम्पियनहरूले अन्तरक्रिया गर्नेछन् ।
स्कुल टु ओलम्पिक कार्यक्रममा ओलम्पियनहरू एथलेटिक्समा नेपालको तर्फबाट चार पटक भाग लिएका बैकुण्ठ मानन्धर, एसियाली खेलकुदमा २ कांस्य र दक्षिण एसियाली खेलकुदमा ४ स्वर्ण जितेका तेक्वान्दोका दीपक विष्ट, १९८० को ओलम्पिकमा सहभागिता जनाएका पुष्पराज ओझा, १६ वर्षसम्म नेपाली राष्ट्रिय भलिबलको कप्तानी सम्हालेका भरत शाह, राष्टिय फुटबल टिमका पूर्वकप्तान हरि खड्कासँग विद्यार्थी तथा खेलाडीले अन्तरक्रिया गर्नेछन् ।
यस्तै, पहिलो र तेस्रो दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाएका डम्मर कुँवर, बक्सिङका नरेन्द्र पोमु, सुटिङका टिकाराम श्रेष्ठ, करातेकी सिता राई र मेनुका राउतले पनि विभिन्न विद्यालयका विद्यार्थी र खेलाडीहरूसँग एकै मञ्चमा बसेर आफ्ना अनुभवहरू साट्ने बताएका छन् ।