तनहुँ १ का कांग्रेस उम्मेदवार गोविन्दले हार स्वीकार्दै लेखे यस्तो मार्मिक स्टाटस

सोमबार, ११ बैशाख २०८०

काठमाडौँ – तनहुँ १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले हार स्वीकार्दै मार्मिक स्टाटस  लेख्दै मतदाता प्रति आभार व्यक्त गरेका छन् ।

जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेसँग १० हजार मत अन्तरले पछि परेका उनले सामाजिक संजाल  फेसबुकमार्फत मतदातहरुप्रति आभार ब्यक्त गर्दै हार स्वीकार गरेका हुन्। , ‘ उनले लेखेका छन्, मेरो तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईंको विश्वास योग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ ।’

चुनावी घरदैलोका क्रममा विगतप्रतिको विश्वासले धेरै नभए पनि केहीका लागि सानो आशा पैदा गराउन सकेको रहेछु भन्दै उनले सानो खुशी पनि दिलाएको महसुस भएको बताएका छन् ।

उनले ठूला आदर्शभन्दा नागरिकका व्यवहारिक समस्या समाधानलाई आदर्श मानेर बीपीको समाजवादबाट प्रेरित भएर चार दशक लामो राजनीतिक यात्राका क्रममा जनतासँगै रहेर काम गरेको बताएका छन् ।

यस्तो छ भट्टराईको  स्टाटस 

हुन त पदलाई मैले कहिल्यै प्राथमिकतामा राखिनँ । पदमा नरहे पनि तपाईंको पीडाले मलाई छोइरह्यो ।

ठूला आदर्शभन्दा तपाईंको व्यवहारिक समस्या समाधानलाई आदर्श मानेर बीपीको समाजवादबाट प्रेरित भएर चार दशक लामो यात्राका क्रममा तपाईंसँग रहेको हुँ । यसक्रममा पार्टीले मलाई विश्वास गरेर तनहुँ १ को उप निर्वाचनमा उम्मेदवार बनाउँदा तपाईंसँगको निकटताका आधारमा जुन आत्मविश्वासका साथ मैदानमा उत्रिएँ, मैले साथ पनि पाएँ ।

मलाई विश्वास गरेर सधैं सकारात्मक प्रतिक्रिया र उत्साह दिएर मप्रतिको विश्वास मतमार्फत प्रकट गर्नुहुने तपाईं सबैप्रति आभार प्रकट गर्दछु ।

चुनावी घरदैलोका क्रममा मेरो विगतप्रतिको तपाईंको विश्वासले धेरै नभए पनि केहीका लागि सानो आशा पैदा गराउन सकेको रहेछु भन्ने कुराले सानो खुशी पनि दिलाएको महसुस गरें । साथै, मप्रति विश्वास नगर्नुहुनेप्रति पनि आभार प्रकट गर्दछु ।

सायद, मेरो तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईंको विश्वास योग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ । तपाईंहरुको जनादेशलाई शिरोपर गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

उही तपाईंको
गोविन्द