सिङ्गापुर पठाइदिन्छु भनेर ६४ लाख ४० हजार ठगी गर्ने एक व्यक्ति पक्राउ
काठमाण्डौँ – सिङ्गापुर पठाइदिने नाममा वैदेशिक रोजगारीमा ठगी गर्दै आएका एक व्यक्ति पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा पारेर सर्वसाधारणलाई ठग्दै आएका ओमनाथ मैनालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनलाई काठमाडौँको बबरमहलबाट नियन्त्रणमा लिएको प्रहरीले जनाइएको छ ।
स्थाइ घर झापा भई हाल काठमाडौंको गोंगबु नयाँ बसपार्क बस्दै आएका ४१ वर्षीय ओमनाथले वैदेशिक रोजगारीमा सिङ्गापुर पठाइदिने र त्यहाँ पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिने प्रलोभनमा धेरैलाई फसाएको खुल्न आएको छ ।
प्रलोभनमा पारिएका पीडितहरुबाट यसरी पटक पटक गरी ६४ लाख ४० हजार उठाएपछि उनी सम्पर्कविहीन भएका हुन् ।
हिजो पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको निम्ति विभाग पठाइएको प्रहरीले जनाएको छ ।