‘वैदेशिक अध्ययन स्विकृती सम्वन्धि निर्देशिका २०७९’ खारेज हुनुपर्छ : इक्यान अध्यक्ष पाण्डे
काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले ‘वैदेशिक अध्ययन स्विकृती सम्वन्धि निर्देशिका २०७९’ लाई खारेज गर्नुपर्ने बताएका छन् । बिहीबार शैक्षिक परामर्श व्यवसायीहरुका विभिन्न छाता संगठनहरुले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले निर्देशिकामार्फत विद्यार्थीहरुको अध्ययन गर्ने अधिकार खोसिएकाले यो निर्देशिका खारेज गर्नुपर्ने बताएका हुन् ।
‘नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा २०८० बैशाख १३ गते प्रकाशित गरिएको वैदेशिक अध्ययन स्विकृती सम्वन्धि निर्देशिका २०७९ मा पहिला भन्दा केही सुधार आएको छ । तर यो पूर्ण छैन ।’, पत्रकार सम्मलेनलाई सम्बोधन गर्दै पाण्डेले भने, ‘यो निर्देशिकले वैदेशिक अध्ययन अनुमति पत्र जतिबेला पनि रोकिन सक्छ । यो निर्देशिका संशोधनले पुग्दैन खारेज हुनुपर्छ ।’
छोटो अवधिका लागि एनओसी दिए जस्तो गरेपनि केही समयपछि जापानको भाषा कोर्ष, अस्टेलियाका भेट कोर्षहरु, अन्य देशका डिप्लोमा र एडभान्स डिप्लोमा कोर्षहरुको एनओसी रोकिने पक्का भएको उनको भनाई थियो । निर्देशिकामा शैक्षिक परामर्श व्यवसायीहरुलाई बढिनै जिम्मेवार बनाएको भन्दै यसले व्यवसायीलाई व्यवसाय गर्न असहज बनाएको उनको भनाई थियो । ‘नेपालबाट विदेश गैसकेको विद्यार्थी कुनै पनि हालतमा कन्सल्टेन्सीको सम्पर्कमा हुँदैन ।’, उनले भने, ‘त्यस्तै परे विद्यार्थी अभिभावकको सम्पर्कमा त आउन चाँहदैन । व्यवसायीले कसरी सम्पर्कमा राखिराख्छ । यो व्यवहारिक छैन ।’
निर्देशिकामा सूचीकृत कलेज तथा विश्वविद्यालयमा अध्ययनका लागि जाने विद्यार्थीलाई मात्र एनओसी दिने व्यवस्था गरेको प्रति आपत्ति जनाए । ‘मानौं एउटा विद्यार्थीलाई पाइलट कोर्ष पढ्न मन लाग्यो । पाइलट अध्ययन गराउने विश्वविद्यालय तथा कलेज मन्त्रालयमा सूचीकृत छैनन् । के त्यो विद्यार्थीले पाइलट पढ्न नपाउनु ।’, उनले भने, ‘यो प्रावधनले नेपालको संविधानले गरेको मौलिक हकको हनन् भएन ? यसलाई समेट्न निर्देशिकाले सक्दैन ।’
त्यस्तो कोर्ष सूचीकृत गर्नका लागि लामो प्रक्रिया पुरा गर्नुपर्ने भएकाले निर्देशिकामा विभेदपूर्ण प्रावधान राखिएको बताए । ‘नयाँ कलेज तथा विश्वविद्यालयलाई सूचीकृत गर्नका लागि परामर्श समितिको व्यवस्था गरिएको छ ।’, उनले भने, ‘त्यो परामर्श समितिमा व्यवसायीहरुको प्रतिनिधित्व गर्ने व्यवस्था गरिएको छैन । यो क्षेत्रको स्टेकहोल्डरको सहभागीताबिना समितिले कसरी परामर्श दिन सक्ला । यसैले यो निर्देशिका व्यवसायी र विद्यार्थी मैत्री छैन । तुरुन्त खारेज हुनपर्छ ।’
कार्यक्रमको अध्यक्षता नेपाल शैक्षिक परामर्श ब्यवसायी महासंघ (तदर्श समिति)का संयोजक राजेन्द्र बरालले गरेका थिए भने संचालन इक्यानका महासचिव दीपकराज भुसालले गरेका थिए । कार्यक्रममा विभिन्न ७ वटा शैक्षिम परामर्श संघहरुको सहभागीता रहेको थियो ।
