गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ताबारे आज निर्णय लिनेः लामिछाने

शुक्रबार, १५ बैशाख २०८०

काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रचण्ड नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ताबारे आज निर्णय लिनसक्ने बताएका छन् । प्रतिनिधिसभाको सदस्यको शपथ लिएपछि उनले सञ्चारकर्मीसँग कुरा गर्दै सकेसम्म आजै केन्द्रीय समितिको बैठक बसेर निर्णय लिने बताए ।

लामिछानेले आफूहरू देशमा स्थिरता होस् भन्ने पक्षमा रहेको बताए । सरकारबारे पार्टी र संसदीय दलको बैठकमा छलफल गरेर निर्णय लिने बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई बधाई दिन फोन गरेको बताए । कुराकानीको क्रममा सरकारलाई दिएको समर्थन फिर्ताबारे चासो राखेको भएपनि गम्भीर छलफल नभएको रविले बताए ।

उनले भने, ‘बधाई दिन प्रधानमन्त्रीले फोन गर्नुभएको थियो । समर्थन फिर्ता लिनेबारे मैले यस्तो सुने के हो रु भनेर चासो राख्नुभएको थियो। त्यसबारे थप छलफल भएको छैन ।’ उनले सरकारको न्यूनतम साझा कार्यक्रमबाट आफ्नो एजेण्डा हटाएकोप्रति असन्तुष्टि जनाए ।