भ्रष्टाचारको कारण हामी सबै जनता पीडित छौँः सरोजकुमार यादव
काठमाडौं— मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा बढ्दो भ्रष्टाचारका कारण सबै जनता पिडित भएका जसमा सरकार भने मूकदर्शक बन्नुपरेकोे बताएका छन् ।
आइतबार जनकपुरधाममा मिटर ब्याज सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘मधेस प्रदेशमा हामी सबै जनता पीडित छौँ, किनभने भ्रष्टाचारीको कारण । दिनप्रतिदिन भ्रष्टाचार मौलाइरहेको छ । यसको जिम्मेवारी को?’ उनले भने, ‘हामीसँग त कुनै निकाय नै छैन, प्रदेश सरकार त एउटा मूकदर्शक बनेर बसेको छ । मैले आलोचना गरेको होइन, सत्य कुरा हो । प्रदेश सरकारलाई प्रहरी समायोजन अति आवश्यक भइसक्यो । तर समायोजन नगरेपनि समन्वय गर्न आवश्यक छ ।’
यादवले भ्रष्टाचार नियन्त्रणका लागि आफूसँग कुनै निकाय नभएको समेत गुनासो गरे ।उनले प्रदेश सरकारलाई प्रहरी समायोजन र कर्मचारी समायोजन अति आवश्यक भइसकेको बताए । उनले संघ सरकारले प्रदेश सरकारसँग समन्वय समेत नगरेको गुनासो गरे ।उनले मुख्यमन्त्रीको खल्तीबाट दिनदहाडै पैसा चोरिनु, ‘मुख्यमन्त्रीको सवारीका बेलामा समेत ट्राफिक प्रहरीहरु सडकमा मोबाइलमा गफ गरेर बस्नु जस्ता गतिविधिले प्रदेशको सुरक्षा कस्तो छ भन्ने देखाउने बताए ।’
‘मुख्यमन्त्रीको खल्तीबाट पैसा चोरिन्छ दिनदहाडै भने त्यहाँको सुरक्षा कति बलियो छ? जबसम्म प्रदेश सरकारसँग समन्वय हुँदैन, कुनैपनि आयोग बनाएर पनि निष्पक्ष तरिकाले पीडितले न्याय पाउँदैन,’ उनले भने, ‘कर्मचारी समायोजन र प्रहरी समायोजन गर्नुस्, म यो प्रदेशमा २४ घण्टाभित्र सबै पीडितलाई न्याय दिलाएर दोषीलाई कठघरामा उभ्याउँछु । प्रदेश सरकारले पाउने अधिकार चाँडो भन्दा चाँडो फुकाइदिनुस् ।’