राजतन्त्र फटाहा र बुद्धि नभएकाहरूले मान्छन्ः ओली

आइतबार, १७ बैशाख २०८०

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र फटाहा र बुद्धि नभएकाहरूले मान्ने टिप्पणी गरेका छन् ।

एमाले निकट अखिल नेपाल किसान महासंघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो टिप्पणी गरेका हुन् । उनले भने, ‘राजतन्त्र कि स्वार्थी, फटाहाले मान्छ कि मुर्खले मान्छ । कोही कोही अज्ञानीले पनि मान्छ । एकथरी अज्ञानी हुन्छन् केही पनि बुझ्दैनन् त्यही भएर मान्छन् । अर्कोथरी स्वार्थ साधना गर्नका लागि मान्छन् । दलाल र बुद्धि नभएकाहरुले मान्छन् जन्मिदै यस्तो हुनुपर्छ भनेर ।’

उनको अनुसार स्वार्थी तत्वहरूलाई आफ्नो समयअनुकूल जति समयको लागि पनि प्रयोग गर्न सकिने छ । उनले भने, ‘स्वार्थी तत्व त बिकाउ मालहरूले मान्छन् । तीनीहरूको केही पनि छैन । थोरैमा एक दिनका लागि एकछिनका लागि एक हप्ता दश दिन जतिका लागि पनि किन्न सक्छ मान्छेले अपराधीकरणका लागि त्यस्ता तत्वले मान्छन् ।’