०४८ सालयताका भ्रष्टाचार छानबिन गर्नेछुः प्रधानमन्त्री

सोमबार, १८ बैशाख २०८०

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छानबिन आयोग बनाएर ०४८ सालयताका भ्रष्टाचार छानबिन गर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघको आठौँ राष्ट्रिय महाविधेशनलाई उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । ‘हामीले आयोग बनाएर ०४८ सालयताका सबै भ्रष्टहरूको छानबिन गर्नेछौँ भनेका छौँ । अब छिट्टै आयोग बनाउनेतिर मेरो पहलकदमी हुनेछ । र, प्रत्येक भ्रष्टहरूलाई कारबाही गर्ने पक्रिया अगाडि बढाउनेछौँ,’ उनले भने । उनले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्टाउन खोज्ने प्रवृति सैह्य नहुने बताएका छन् । प्रचण्डले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिमाथि प्रहार गर्ने षड्यन्त्र प्रतिगमनको कोणबाट भइरहेको दाबी गरे ।

उनले मुलुकमा प्राप्त उपलब्धिमाथि प्रहार गर्नेविरुद्ध धुलो चटाउन जरुरी रहेको भन्दै यसका लागि त्याग, तपस्या र संघर्षको नयाँ कीर्तिमान कायम गर्न तत्पर हुनुपर्ने धारणा राखे । उनले अयोग्य लगाकुलाई रकम दिने सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न खोज्दा स्यालहुइँया फैलाउन खोजिएको पनि बताए । प्रधानमन्त्री पदलाई निकै चूनौतिपूर्ण अवसरका रूपमा लिएको भन्दै उनले सरकारले गर्न खोजेको सकारात्मक कदमविरुद्ध प्रहार भइरहेको बताए । उनले भ्रष्ट तत्वहरू भ्रष्टाचारको विरुद्ध बोलेको देख्दा अनौठो लाग्ने गरेको पनि बताए ।