सरकारद्वारा क्रिकेट खेलाडीलाई जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिइने
काठमाडौं— एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई सरकारले जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने घोषण गरेको छ ।
सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आज बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको जानकारी दिइन् ।मंगलबार भएको फाइनलमा यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप विजेता बनेर एसिया कप क्रिकेटमा छनोट भएको थियो ।
खेलकुद पुरस्कार कार्यविधि अनुसार एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीले जनही ५ लाख रुपैयाँ पुरस्कार पाउने थिए । मन्त्रिपरिषदले कार्यविधिमा भएको भन्दा १ लाख बढाएर पुरस्कार घोषणा गरेको हो । बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई मन्त्री शर्माले अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि आवश्यक रकमको व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा गर्ने निर्णय पनि गरेको बताइन् ।