समाजवादी मोर्चा बनाएर देशलाई छिट्टै निकास दिन्छौ: विप्लव

बुधबार, २० बैशाख २०८०

काठमाडौँ –  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले समाजवादी मोर्चा बनाउन सकारात्मक वातावरण बन्दै गएको बताएका छन् ।  विचार मिल्ने पार्टीहरूसँग मोर्चा बनाउने विषयमा उत्साहजनक छलफल चलिरहेकाले समाजवादी मोर्चा बनाउन सकारात्मक वातावरण बन्दै गएको महासचिव विप्लव सीले बताएका हुन् ।

माओवादी केन्द्रसहित एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी लगायत शक्तिसँग समाजवादी मोर्चा बनाउने विषयमा छलफल चलिरहेको महासचिव विप्लवले बताए ।

‘विचार मिल्ने पार्टीहरुबीच मोर्चा बनाउने छलफल चलेको छ । मोर्चा बनाउने कुरा राम्रो हो । प्रचण्ड कमरेड एक ठाउँमा हुनुहुन्छ । बाबुरामजी एक ठाउँमा हुनुहुन्छ कुनै समय कम्युनिस्ट विचार नै छोडे भन्नुभयो । माधव जी उपेन्द्रजीहरु अर्को ठाउँमा हुनुहुन्छ’ उनले भने, ‘सबै पार्टीसँग छलफल चलिरहेको छ । मोर्चाको महत्त्व के हो ? त्यसले देशलाई कहाँसम्म पुर्‍याउँछ भन्ने विषयमा छलफल चलिरहेको छ ।’

समाजवादी मोर्चा बनाउने विषयलाई छिट्टै मूर्तरूप दिएर देशलाई निकास दिइने विप्लवको भनाइ थियो  ।