प्रचण्डको सरणार्थी फिल्म हेर्ने ओलीको तिब्र इच्छा

सोमबार, २५ बैशाख २०८०

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भुटानी शरणार्थी प्रकरणमा तयार पारेको फिल्म हेर्न आतुर भएको आलोचनात्मक अभिब्यक्ति दिएका छन् ।

सोमबार राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै ओलीले पूर्वी नेपालमा आफूमाथि भएको ढुंगामुढा र नक्कली भुटानी शरणार्थी प्रकरणबारे प्रधानमन्त्री प्रचण्डको चर्को आलोचना गर्दै यस्तो बताएका हुन् ।

पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री प्रचण्डले हिरोइज्म देखाएको र स्टन्टबाजी गर्न खोजेको ओलीले आरोप लगाए। ओलीले प्रचण्डलाई शरणार्थी प्रकरणमा तयार पारेको फिल्म हेर्ने तिब्र इच्छा आफ्नो भएकोले फिल्म देखाउन चुनौती पनि दिए ।

‘मलाई पूर्वमा ढुंगामुढा भयो। प्रचण्डजीले फोन गर्नुभयो। आफ्नै स्वार्थका कुरा गर्नुभयो तर तपाईंमाथि आक्रमण भएछ है भनेर सहानुभूति पनि देखाउनु भएन, त्यसबारे एक शब्द पनि बोल्नुभएन,’ ओली भने,‘शेरबहादुरजीले पनि फोन गर्नुभयो। उहाँले बरू तपाईंमाथि त्यस्तो भएछ है। त्यस्तो नहुनु पर्ने। सरकारले यस्ता कुरामा ध्यान दिनुपर्छ भन्नुभयो।’

‘अस्ति मलाई उहाँले भेट्न बोलाउनुभयो। भेटेपछि मिडियामा आएर भन्नुभयो( प्रधानमन्त्रीलाई भ्रष्टाचारीलाई छुटाउनु पर्छ भनेर कसले दबाब दिन सक्छ। मानौं कि मैले उहाँलाई दबाब दिएको थिएँ जसरी,’ ‌ओलीले भने,‘त्यसपछि पार्टी कार्यालयमा जाँदा उहाँलाई कार्यकर्ताले दुबोको माला लगाइदिए। बेहुलोजस्तो बनेर उहाँले भन्नुभयो( यो त ट्रेलरमात्र हो, फिलिम देखाउन बाँकी छ।’