काठमाडौं महानगरपालिकाद्वारा स्मार्ट ‘केएमसी एप’ सार्वजनिक

मंगलबार, २६ बैशाख २०८०

काठमाडौं– काठमाडौं महानगरपालिकाले स्मार्ट ‘केएमसी एप’ सार्वजनिक गरेको छ । महानगरप्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरको सेवा प्रवाहलाई ‘होम डेलिभरी’ गर्ने नीति अनुरूप सेवा प्रवाह सुधारका लागि एकीकृत डिजिटल सुशासन प्रणाली ‘केएमसी एप’ लन्च गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । जसमार्फत सेवाग्राहीले अनलाईनमार्फत जुनसुकै स्थानबाट महानगरको सेवा लिन सकिने व्यवस्था गरेको शाहले बताए ।

उक्त ‘केएमसी एप’ मार्फत सेवाग्राहीले ३० भन्दा बढी प्रकारका सिफारिस, अनलाइन राजस्व, नगरप्रमुखसँग भेटघाटका लागि अपोइन्टमेन्ट, च्याटबोट, महागरबारे विभिन्न सूचना तथा समाचारहरू, विभागगत कार्य विवरणसहितको डिजिटल नागरिक बडापत्रको जानकारी तथा सेवा लिन सकिनेछ । त्यस्तै, ‘केएमसी एप’ मार्फत सेवाग्राहीले ‘हेलो मेयर’ मा गएर सिधै जनगुनासो गर्न सकिनेछ । स्मार्ट कर, प्रकाशित राजपत्रहरू, पर्यटकीय स्थलहरू, आकस्मिक सेवाहरू, जस्तैः रक्तदान सेवा, एम्बुलेन्स, दमकल तथा प्राकृतिक प्रकोप, सार्वजनिक शौचालयलगायत सेवा एपमा समेटिएको छ ।

महानगर प्रमुख शाहले यस एपमार्फत सेवाग्राहीले नागरिकता सम्बन्धी सिफारिस, घरबाटो/कित्ताकाट/जग्गा मूल्यांकन सिफारिस, घरधनी प्रमाणपुर्जाको प्रतिलिपी, घर कायम सिफारिस, सम्पत्ति कर चुक्ता सिफारिस, अस्थायीरस्थायी बसोबास सिफारिस, विद्युत् जडान/धारा जडान सिफारिस, आन्तरिक बसाइँसराइ सिफारिस, कोठा खाली गर्ने सिफारिस, जन्म मिति/अविवाहित प्रमाणित, नामथर फरक सिफारिस, बैंक खाता बन्द गर्ने सिफारिस, अदालत शुल्क मिनाहा सिफारिस, बैंक खाता बन्द गर्ने सिफारिस, व्यवसाय बन्द सिफारिस, संस्था दर्ता सिफारिस, छात्रवृत्ति सिफारिस, अपांगता सिफारिस, विद्यालय कक्षा वृद्धि सिफारिस, विपन्न नागरिक औषधि उपचार सिफारिस व्यवसाय स्थानान्तरण सिफारिसलगायत ३१ वटा सिफारिस अनलाइन गरेको जानकारी दिए । अन्य केही कार्यालयमै उपस्थित भएर गर्नुपर्ने सिफारिसहरूका लागि भने सेवाग्राही कार्यालयमै उपस्थित हुनुपर्ने जनाएको छ । उक्त एसमा अनलाइनबाटै सम्पत्ति कर, भूमि तथा मालपोत कर, व्यवसाय करजस्ता विभिन्न करहरू तिर्न सकिने र कर र्तिनका लागि ‘डिजिटल वालेट’ हरूको प्रयोग गर्न सकिने जनाएको छ ।