सरकारले फिल्म ‘काँडेतार’को प्रदर्शन रोके जनतामाझ लगेर प्रदर्शन गर्छौंः भीम रावल

मंगलबार, २६ बैशाख २०८०

काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले फिल्म ‘काँडेतार’लाई सरकारले रोके जनतामाझ लगेर प्रदर्शन गर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले फिल्म प्रदर्शन रोक्ने केन्द्रीय चलचित्र जाँच समितिको निर्णयको विरोध गर्दै सो कुरा बताएका हुन् । कुन चाहिं संवाद र दृश्यले नेपालको राष्ट्रिय हितमा आघात पुगेको छ, उहाँले भन्न सक्नुपर्‍यो,’ रावलले भने। फिल्म र मनोरञ्जन जनताको मौलिक अधिकार भएको भन्दै उनले यसको हनन कसैले गर्न नसक्ने बताए ।

राप्रपा सांसद ज्ञानेन्द्र शाहीले फिल्म ‘काँडेतार’ निर्वाध चल्न पाउनुपर्ने बताए ।‘सबै बसेर हेरौं कहाँ के आपत्ति छ, यदि आपत्ति छ भने सेन्सर बोर्डलाई सघाउँला तर यसलाई रोक्नुहुँदैन,’ उनले भने । प्राध्यापक सुरेन्द्र केसीले देशको सीमा मिच्दा र राष्ट्रियताको मुद्दा उठाउँदा झनै प्रोत्साहन गर्नुपर्नेमा फिल्म रोकिनु राम्रो कुरा नभएको बताए ।

पत्रकार सम्मेलनमा निर्माता तथा निर्देशक नवल खड्काले आफूहरुले फिल्ममार्फत सार्वभौमसत्ता, सीमा मिचिएकोदेखि सीमा व्यवस्थित गर्ने कुराको उठान गरेको बताए । ‘सरकारले यस्तो कुरामा सहयोग गर्नुपर्नेमा उल्टै रोक्ने काम गरेको छ, हामी पछि हट्दैनौं बरु अदालत जान्छौं,’ खड्काले भने । उनका अनुसार आगामी जेठ पहिलो साता फिल्मको पुनः सेन्सरको तयारी छ । यसअघि सेन्सर गर्दा फिल्मको केही दृश्य र संवाद मर्यादित नभएको भन्दै सेन्सर बोर्डले फिल्म रोकेको थियो ।