पहिचानका लागि भईरहेको आन्दोलनमा दमन रोकी बार्ता गर्न नेकपाको सरकारसंग माग
राज्यले दमनको बाटो समाते अकल्पनीय मूल्य चुकाउनु पर्ने चेतावनी
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीले कोशी प्रदेश नामाकरण विरुद्ध पहिचानको आन्दोलन गरिरहेका नागरिक माथि भईरहेको दमन रोकी आन्दोलनरत शक्तिसङ्ग वार्ता गरेर समस्याको समाधान गर्न सरकारसंग माग गरेको छ।
बुधबार एक प्रेस बिज्ञप्ती जारी गर्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले बैशाख २६ गते आन्दोलनकारी माथि गोलि चलाउदा दुई जना गम्भीर र अन्य दर्जनौं घाइतेहरुको स्वास्थ्य लाभको कामना सहित दमन रोकी बार्ता गर्न सरकारसंग माग गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवद्वारा दमकमा भएको दमन विरुद्ध जारी प्रेस वक्तव्यमा (आन्दोलनकारीमाथीको दमन रोकी वार्ता गर्नुपर्ने ,नागरिकलाई माग राख्ने अधिकार हुँदाहुदै नागरिकको आवाज सुन्ने र समाधान गर्ने दायित्व राज्यको भएको र पुर्वमा चलिरहेको पहिचानको आन्दोलनलाई नेपाल कम्युनिस्ट पार्टीले जनताको न्यायपुर्ण आन्दोलनको रूपमा समर्थन गरेको उल्लेख गरिएको छ।
त्यस्तै,वक्तब्यमा नेपालमा संघीयता भने पनि वास्तविक जनताको संघीयता नआएकोले नै लिम्बुवान, खम्बुवान, कोचलाई जनआकांक्षा विपरित कोशी प्रदेश नाम राख्नु यसैको प्रमाण भएको समेत बताईएको छ।
महासचिव विप्लवद्वारा जारी प्रेसबिज्ञप्तीको पुर्णपाठ:
२०८०वैसाख २६ गते राति पहिचानको आन्दोलन गरिरहेका नागरिक माथि राज्यले गोली चलाउँदा २ जना गंभीर र अन्य दर्जनौं घाइते भएका छन् । आन्दोलनमा घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै राज्यको दमनको घोर भत्र्सना गर्दछ । साथै दमन रोकी आन्दोलनकारी शक्तिसंग यथाशिघ्र वार्तागरेर समस्या समाधान गर्न माग गर्दछ ।
राज्य भित्र हरेक नागरिकलाई आफ्नो अधिकारको माग गर्ने र आन्दोलन गर्ने अधिकार छ । नागरिकका आवाज सुन्ने र समाधान गर्ने दायित्व राज्यको हो । संघीयता भने पनि नेपालमा वास्तविक जनताको संघीयता छैन । लिम्बुवान, खम्बुवान, कोचलाई जनआकाँक्षा विपरित कोशी प्रदेश नाम राख्नु यसैको प्रमाण हो । कोशी नामाकरणपछि त्यसक्षेत्रमा आन्दोलन चलिरहेको छ । यसलाई हाम्रो पार्टीले जनताको न्यायपूर्ण आन्दोलनका रुपमा समर्थन गरेको छ । यस्तो अवस्थामा राज्य संयम भएर जनचाहना अनुरुप समस्या समाधानका पक्षमा उचित पहल गर्नुको सट्टा दमनकारी नीति लिनु कदापी उचित छैन । राज्यले दमनको बाटो मात्र समातेमा अकल्पनीय मूल्य चुकाउनु पर्ने अवस्था निम्तिने चेतावनी दिन चाहन्छौं ।
