बुध्द एअरका मालिकको घरको कलह बाहिर छताछुल्ल, आफ्नै भाइलाई यतिसम्म गर्न भ्याएछन्
काठमाडौँ – बुध्द एयरका मालिक वीरेन्द्रबहादुर बस्नेत र अमेरिका बस्ने भाइ शिवेन्द्रबीचको सम्पत्ति विवाद बाहिर छताछुल्ल भएको छ । उनीहरुबीच पुर्ख्यौली सम्पत्तिभन्दा पनि बुध्द एअरको सेयरमा विवाद बढेपछि उनीहरुबीचको विवाद बाहिर छताछुल्ल भएको हो ।
बुध्द एयरका संस्थापक अध्यक्ष तथा उनीहरुका बुबा सुरेन्द्रबहादुर बस्नेतको निधनपछि छोराहरुबीच सेयरको लफडा उत्कर्षमा पुगेको देखिन्छ । भाइ शिवेन्द्रले दाइले सबै सम्पत्ति एक्लौटी पारेको भन्दै हिजो बबरमहलमा पत्रकार सम्मेलन गरेपछि नेपाली हवाई उडान क्षेत्रको सम्राट मानिएको बस्नेत परिवारभित्रको कलह बाहिर छताछुल्ल भएको हो ।
पत्रकार सम्मेलनमा शिवेन्द्रले भने, ‘बुबाले भाग लगाइदिएको सेयर पनि दाइले खाइदिए, ‘पिताले दिएको ४० प्रतिशत सेयरको कुनै हिसाब छैन । म अमेरिका बसेको मौकामा सबै काम सिध्याइएछ ।’ पिता सुरेन्द्रले बुध्द एअरको सेयर स्वामित्व भाग लगाउने क्रममा दाइको नाममा २० र आफ्नो नाममा ८० प्रतिशत राखेका थिए । उनको निधनपछि दाइले बाबुको नामको ८० प्रतिशत आधा भाग लगाउनुपर्नेमा सबै कब्जा गरेको उनको आरोप थियो ।