हर्कविरुद्ध आन्दोलनमा उत्रिए सुनसरीका पत्रकार
काठमाडौं— धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध सुनसरीका पत्रकारहरू आन्दोलनमा उत्रिएका छन् ।
नेपाल पत्रकार महासंघ सुनसरीको आह्वानमा मेयर साम्पाङको अभिव्यक्ति र व्यवहारले आफूहरू असुरक्षित भएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । आज महासंघले मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमासमेत पत्रकारहरूको विरोध गर्न आफ्ना समर्थकहरूलाई उक्साएको आरोप लगाउँदै आफूहरूको सुरक्षा गर्न माग गर्दै सुनसरी जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र पनि बुझाएको छ ।
उनीहरूले जिल्ला प्रशासन कार्यालयमा पुगेर मेयर साम्पाङबाट आफूहरूको सुरक्षा माग गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् । मेयर साम्पाङले आफूहरूविरुद्ध आफ्ना सकर्थकहरूलाई परिचालन गर्ने प्रयास गरेकाले सुरक्षाका लागि आफूहरूले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउनु परेको महासंघका अध्यक्ष जनकऋषि राईले बताए ।