बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढेको पार्टी यथास्थितिवादी हुन सक्तैनः शंकर पोखरेल

आइतबार, ३१ बैशाख २०८०

काठमाडौं— नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मार्क्सवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढेको पार्टी यथास्थितिवादी हुन नसक्ने कुरा बताएका छन् ।

उनले सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै नयाँ र पुराना पार्टीहरूको भाष्य खडा गरिन खोजिएको बताएका हुन्। ‘मार्क्सवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढेको पार्टी यथास्थितिवादी हुन सक्तैन। यो निरन्तर गतिशील प्रवाहमा अघि बढ्ने गर्छ,’ उनले भनेका छन्, ‘माओवादी केन्द्रसँगको पार्टी एकतासँगै यो पार्टीमा वैचारिक राजनीतिक काम हुन सकेन। संगठनात्मक अराजकता बढेर गयो। परिणाम स्वरूप यसको गति केही कमजोर बनेको थियो। संगठनात्मक अराजकताले यसको एकिकृत शक्ति घट्न पनि पुगेको थियो।’

‘मिसन ग्रासरूट’ले गतिहिनता तोडेको र नयाँ गतिको आधार सिर्जना गरेको उनको दाबी छ। नयाँ स्वतः विकल्प हुने, राम्रो र सफल नहुने उनको तर्क छ। ‘यथास्थितिको दुष्चक्रलाई तोड्ने हो भने सही नीति, सबल संगठन र प्रतिबद्ध कार्यकर्ताको आवश्यकता पर्दछ,’ उनले भनेका छन्, ‘विचारधाराको जगमा खडा भएको बलियो राष्ट्रिय शक्तिले मात्र यथास्थितिवादको दुष्चक्रलाई तोड्ने सामर्थ्य राख्दछ र मुलुकलाई परिवर्तनको दिशामा डोर्‍याउन सक्छ।’ शनिबार सकिएको पाँचौ केन्द्रीय कमिटी बैठकले पार्टीलाई बलियो राष्ट्रिय शक्तिको रूपमा सुदृढ गर्ने कार्ययोजना तयार गरेको उनले बताएका छन्।