प्रधानमन्त्री र सांसदहरुको सवालजवाफ ‘कर्मकाण्डी’ मात्र भएको योगेश भट्टराईको आरोप

बिहिबार, ४ जेष्ठ २०८०

काठमाडौँ – नेकपा एमालेका नेता योगेश भट्टराईले प्रतिनिधिसभामा आजको प्रश्नोत्तर कर्मकाण्डी मात्र भएको आरोप लगाएका छन् ।

विहीबार बसेको प्रतिनिधि सभाको बैठक पश्चात सञ्चारकर्मीसंग नेता भट्टराईले आजको प्रश्नोत्तर तैंले सोधे जस्तो गर मैले भने जस्तो गर्छु भन्ने मात्र भएकोले यो कर्मकाण्डी मात्र भएको आरोप लगाएका हुन् । उनले भने, ‘यो कर्मकाण्डी जस्तो भयो । प्रधानमन्त्रीले केही तथ्यहरु सहि लिएर आउनु भयो केही गलत तथ्यहरु लिएर आउनु भयो । उहाँले आफ्नो कर्मकाण्डी कामलाई पूरा गर्नुभयो ।’

सांसदहरुले उठाएको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको जवाफ प्रष्ट नभएको नेता भट्टराईले बताए । उनले शरणार्थी प्रकरणबारे मिडियामा आएका विभिन्न मानिसहरुलाई जोगाउने र वयान फेर्ने विषयमा मात्र प्रधानमन्त्रीले छुट्टै जवाफ दिनुपर्ने तर त्यसो नभएको बताए ।