जितेन्द्रनारायणद्वारा शरणार्थी प्रकरणमा राजनीतिक हस्तक्षेप हुन नदिन सरकारलाई आग्रह
काठमाडौं— राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक हस्तक्षेप हुन नदिन सरकारलाई आग्रह गरेका छन् ।
शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य देवले अनुसन्धानमा नेपाल प्रहरीमाथि कुनै पनि खालको हस्तक्षेप कदापि स्विकार्य नहुने र यो प्रकरणमा संलग्न जोकोहीलाई कारबाही गर्नुपर्ने बताए । उनले भने, ‘हाम्रो मुलुकमा भ्रष्टाचार संस्थागत छ, भ्रष्टाचार नियन्त्रणका लागि निडर र निष्पक्ष भएर काम गर्न वर्तमान सरकारलाई पनि आग्रह गर्न चाहन्छु ।’
भ्रष्टाचार नियन्त्रणमा सरकार र प्रमुख राजनीतिक शक्तिहरुले काम गरे अग्रगमनको बाटो सुरक्षित हुने भन्दै पूर्वमन्त्री समेत रहेका देवले भने, ‘खुट्टा कमायो, भ्रष्टाचार बढ्यो भने प्रतिगमनकारीहरु यही मुद्दामा चढेर प्रतिगमन गर्दछन् ।’ नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष, स्वतन्त्र, कानुनसम्मत हुनुपर्ने उनले बताए । त्यो राज्य विरुद्धको अपराध पनि हो । राज्यको गोपनियतासँग चलखेल गर्नु, राज्यको दस्तावेजलाई तलमाथि गर्नु यो राज्य विरुद्धको अपराध हो,’ देवले भने, ‘यो सामान्य भ्रष्टाचारको मुद्दा होइन ।’