परिसूचकमा भएको समस्या सरकारले नबुझेको कि बुझ्न नचाहेको?- ओली

आइतबार, ७ जेष्ठ २०८०

काठमाडौं— नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले परिसूचकमा भएको समस्या सरकारले नबुझेको कि बुझ्न नचाहेको हो भन्दै प्रश्न गरेका छन् ।

उनले देशका समस्या लुकाएर सरकार बेखबर जस्तो देखिएको बताएका हुन् । “बुँदानम्बर पाँचमा भन्छ अर्थतन्त्र सब ठिकठाक छ,” ओलीले भने, “१४औँ नम्बरमा देश समस्यामा छ । सबै परिसूचकमा समस्या छ । सरकारले नबुझेको कि बुझ्न नचाहेको?”

सरकारले ल्याएको नीति तथा कार्यक्रम विगतसँग जोडिन नसकेको भन्दै देशका प्राथमिकतालाई नै नीति तथा कार्यक्रमले छोडेको ओलीले बताए । “यो नीति तथा कार्यक्रम नेपालमा पहिलोपटक आएजस्तो छ, मानौ यस अघि देशमा नीति तथा कार्यक्रम नै आउँदैनथे । यसले राष्ट्रले प्राथमिकतामा राखेका आयोजना र दिगो विकासको मान्यतालाई नै छोडेको छ,” ओलीले भने, “विगतमा थालिएका राम्रा कामको निरन्तरता यो सरकारको जिम्मेवारी होइन? संकटमा परेको अर्थतन्त्र उकास्नु यो सरकारको जिम्मेवारी होइन?”