संवाद, सहमति र सहकार्यको परिपाटीतर्फ देशलाई फर्काउनुपर्छः ओली

आइतबार, ७ जेष्ठ २०८०

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवाद, सहमति र सहकार्यको परिपाटीतर्फ देशलाई फर्काउनुपर्छ भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिंदै ओलीले यस्तो बताएका हुन् । २३ महिनासम्म संवैधानिक परिषदको बैठक नराखेको भन्दै ओलीले अहिले प्रधानन्यायाधीश नियुक्ति हुन नसक्नुको दोष प्रमुख प्रतिपक्षी एमालेलाई दिन खोजिएको टिप्पणी गरे । ‘२३ महिना संवैधानिक परिषद्को बैठक नबोलाउने, एउटा प्रन्यामाथि महाअभियोग लगाएर छोडिदिने, महाअभियोग प्रस्ताव अगाडि बढ्न नदिने । यसरी न्यायोचित र पारदर्शी ढंगले काम हुन सक्छन्? यस्ता कुराहरु, कमीकमजोरी आफूले गर्ने र दोष अर्काको टाउकोतिर लगाइदिने?’ ओलीले भने ।

प्रस्तावित नीति तथा कार्यक्रमले लोकतन्त्रप्रति सबैको विश्वास मजबुत बनाउने विस्तृत खाका नदिएको र सरकारप्रति विश्वास बढाउने कुनै कार्यक्रम पनि दिन नसकेको ओलीले बताए । न्याय र समृद्धिको योगफल नै लोकतन्त्र हो भन्दै ओलीले नीति तथा कार्यक्रममा लोकतन्त्रको आत्मा नरहेको टिप्पणी गरे । नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई सत्ता प्राप्त गर्ने औजारको रुपमा प्रयोग गरिएको भन्दै सरकार र सत्तागठबन्धनको ओलीले आलोचना गरे ।