जलहरीमा ओलीलाई जोड्नु उचित होइन : प्रचण्ड
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहलरीबारे प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई जोड्नु उचित नभएको बताएका छन् । संसदको आजको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्ति उचित नभएको बताएका हुन् ।
उनले प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरुद्ध गरेपछि प्रधामन्त्रीले शनिबार संसदमा स्पष्टीकरण दिएका हुन् । शनिबार संसदको बैठक सुरु हुनासाथ समय लिएर बोलेका प्रधानमन्त्री प्रचण्डले जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्रनधिकार पशुपति विकास कोसको भएको र यसमा कुनै विवाद नभएको बताए ।
जलहरी राख्दा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको भन्दै उनले यसमा सरकारको सहयोग रहने बताए । उनले अगाडि भने, ‘पशुपति क्षेत्र विकास कोषसँग सबन्धित विषयमा प्रमुख प्रतिपक्ष दलको नेतालाई जोडेर विचार व्यक्त हुनु उचित होइन ।’
१० जेठमा माओवादी सांसद लेखनाथ दाहालले ओली प्रधानमन्त्री हुँदा भ्रष्टाचारका काण्डहरु भएको भन्दै भनेका थिए, ‘स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्टाचार । त्यति मात्रै होइन, पशुपतिनाथमा जलहरी लाउँदा सुन लाउने भनेर पित्तल लाइदिएर गरेका भ्रष्टाचारहरु । यस्ता सयौं, हजारौं भ्रष्टाचारका काण्डहरु छन् ।’
१२ जेठको बैठकमा एमाले सांसदहरुले दाहालको अभिव्यक्तिमा आपत्ति जनाए । प्रमुख प्रतिपक्षी दलका नेतामाथि पशुपतिमा सुनको जलहरी भनेर पित्तल टाँसेर आरोपित गरेको भन्दै माफी माग्नुपर्ने अडान राखे । एमाले सांसदहरुले रोष्टम नै घेराउ गरेपछि शुक्रबार संसद नियमित कार्यसूचीमा प्रवेश नै गर्न सकेन ।
शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार शनिबार प्रधानमन्त्रीले स्पष्टीकरण दिएपछि संसदको अवरोध हटेको छ ।