रेशम चौधरीलाई आममाफी दिने निर्णय कुनै हालतमा स्वीकार्य हुँदैन भन्दै कड्किए एमाले सचेतक बर्तौला

आइतबार, १४ जेष्ठ २०८०

काठमाडौं –  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)  का सचेतक महेश बर्तौलाले जन्मकैदको सजाय भुक्तान गरिरहेका पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य हुदैन भन्दै कड्किएका छन् ।

सचेतक बर्तौंलाले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतले जन्मकैदको सजाय दिएको चौधरीलाई सत्ता टिकाउनका लागि सरकारले सो काम गर्न लागेको प्रति आक्रोशित हुदै चौधरीलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य  हुदैन भन्दै कड्किएका हुन्  ।

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले पीडितलाई थप पीडित बनाउने गरी सरकारले कानुनी राज्यको खिल्ली उडाउँदै चौधरीलाई आममाफी दिने निर्णय लिएको जिकिर गरे ।

सचेतक बर्तौलाले राजनीतिक दाउपेचको आधारमा गरिएको सरकारको सो निर्णय उपयुक्त नभएको उल्लेख गर्दै त्यसमा ख्याल गरेर अघि बढ्न राष्ट्रपति रामचन्द्र पौडेललाई पनि आग्रह गरे ।

‘सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत तीन वटै तहको अदालतले उहाँको बारेमा एक प्रकारको फैसला गरेको छ । भिक्टिमहरुलाई थप भिक्टिम बनाउने गरी, अदालतले गरेको आदेशको पूर्ण पाठ आएको छैन । सर्वोच्चले आदेश गर्यो, फैसला गर्यो । तलको आदेशलाई सदर गर्यो’, उनले भने, ‘त्यसको पूर्णपाठ आएको छैन । अनि हतारहतार सरकार टिकाउन लागि, सत्ता जोगाउनका लागि हामीले विधिको शासन, कानुनी राज्य यी समग्र पक्षलाई संविधानमा हो, कहीँ कतैं आममाफीको व्यवस्था होला । कतिपय अवस्थामा सरकारले चाहेको अवस्थामा सजाय माफी दिनसक्छ ।’

व्यवस्थालाई दूरुपयोग गरेर, कानूनी राज्यलाई खिल्ली उडाउँदै कानूनी शासन, विधिको शासन, त्यसलाई कमजोर बनाउने गरी सबै हिंसाका घटनालाई सत्तासँग जोड्ने, राजनीतिसँग जोडने, उन्मुक्ति दिँदै जाने भन्दै यसले कस्तो नजिर बस्नसक्छ रु भन्दै बर्तौलाले प्रश्न समेत गरे ।