बालेनद्वारा गणतन्त्र दिवसका अवसरमा आयोजित समारोह बहिष्कार

सोमबार, १५ जेष्ठ २०८०

काठमाडौं— गणतन्त्र दिवसका अवसरमा आज टुँडिखेलमा आयोजित समारोह काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अघोषित बहिष्कार गरेका छन् । उनी केही समययता संघीय सरकारसँग असन्तुष्ट थिए ।

हरेक वर्ष गणतन्त्र दिवसका दिन आयोजना गरिने औपचारिक समारोहमा उच्चपदस्थहरूलाई आमन्त्रण गर्ने गरिन्छ । काठमाडौंका मेयर र उपमेयरको पनि अनिवार्य उपस्थिति रहँदै आएको छ । तर, यसपालि मेयर साह र उपमेयर सुनिता डंगोल दुवै कार्यक्रममा अनुपस्थित रहे । ललितपुरका मेयर चिरीबाबु महर्जन भने समारोहमा सहभागी थिए ।

गणतन्त्र दिवस समारोहमा काठमाडौं महानगरको विशेष भूमिका रहने गरेको थियो । समारोहका लागि स्टेज निर्माण र व्यवस्थापनको जिम्मा महानगरले पाउँथ्यो । यसपटक भने यो भूमिकाबाट पनि काठमाडौं महानगर पन्छिएको छ । समारोह आयोजनाका लागि हरेक वर्षजस्तै प्रधानमन्त्रीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको थियो । सबै उपप्रधानमन्त्री, मन्त्री रहने समितिमा काठमाडौंका मेयर पनि सदस्य रहन्छन् ।

मेयर बालेननिकट स्रोतले गणतन्त्र दिवस संघीय सरकारले मनाउने कार्यक्रम भएकाले महानगरले हात झिकेको बतायो । ‘पहिले के परम्परा थियो भन्ने भन्दा पनि आफैंले परम्परा बसाउने हो । गणतन्त्र दिवसको समारोह संघीय सरकारले आयोजना गर्ने भएकाले स्टेज व्यवस्था पनि सरकार आफैंले गरोस् भनेर छोडिदिएका हौं,’ स्रोतले भन्यो ।

मूल आयोजक समितिका सदस्यसचिव समेत रहेका गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले मेयर र उपमेयर अनुपस्थित रहनुको कारण बारे अनभज्ञिता दर्शाए । उनलेग भने, ‘निम्ता त गरिएको हो । किन आउनुभएन भन्ने जानकारी छैन ।’