दरबार हत्याकाण्डबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले अर्दलीसँग लिएको बयान

शुक्रबार, १९ जेष्ठ २०८०

नारायणहिटी राजदरबारमा २०५८ जेठ १९ गते भएको घटना सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले अर्दली (युवराज दीपेन्द्रको पोसाक लगाइदिने र खोलिदिने काम गर्ने) रामकृष्ण के.सी. सँग लिएको बयानः

समितिः कति वर्ष भयो काम गरेको?

जवाफः तीन वर्ष भयो?

समितिः के जिम्मेवारी दिएको थियो?

जवाफः म पोशाकहरु खोल्दिने, लगाइदिने……

समितिः युवराजधिराजको पोशाक लगाइदिने, खोलिदिने, ए त्यस्तो भएपछि खोपीमा आउन जान पाइरहने, त्यो घटना हुँदा तपाईं कहाँ हुनुहुन्थ्यो?

जवाफः म किचेनमा थिएँ, माथि सवारी होइबक्स्यो भनेर आमाले भनेपछि माथि आई साहेब ढलिबक्सिरहेछ, हामी आएपछि उठिबक्स्यो, अनि पोशाक खोल्न लाइबक्स्यो । पोशाक खोल्दैथ्यौँ । अनी वाथरुम सवारी भयो । हामी वाहिर बसिरह्यौँ एक छिनपछि वाहिर सवारी भयो, अनि तिमीहरु जाओ भन्नुभयो हामी पछाडी गयौँ । पछाडि गएपछि ज्यूनारको सामान आयो, किचेनको साँचो आमासँग हुन्थ्यो । अनि म साँचो माग्न आमाकहाँ आएँ ।

समितिः तपाईंले आमा भनेर कसलाई भनको?

जवाफः जमुना अधिकारीलाई हामी आमा भन्छौँ, द्वारे आमा भएको हुँदा । … म आफैँ जान्छु भनी आमा जानुभयो । म त्यहाँ उभिइराखेको समयमा साहेव पोशाक लगाएर हतियार भिरेर सवारी भयो । सवारी भएपछि बाहिर सवारी हुन लागेछ…..

समितिः तपाईंले हतियार भिरेको देख्नुभयो? कसरी भिरेको रे?

जवाफः पछाडीबाट भिर्नु भएको, पछाडिबाट, त्यहाँबाट बाहिर सवारी भयो की भनी इमर्जेन्सी ब्याग चाहिन्छ कि भनी सोध्दा चाहिदैन हुकुम भयो र म ए।डि।सि।लाई खबर गर्न दौडेको मात्र थिएँ पड्कीन सुरु भइहाल्यो । अनि भागेर पछाडि गएँ ।

समितिः अनि त्यो लडेपछि वाथरुम जाँदाखेरी वाकवाक पनि लागेको थियो?

जवाफः वाकवाक चाहिँ अलिअलि गरिबक्सेको थियो ।

समितिः वान्ता नै भएको थियो

जवाफः त्यो त हामीले हेरेनौं ।

समितिः अनि तपाईंले हतियारले लैष भएको देख्नुभयो? कपडा चेञ्ज गरेर

जवाफः हजुर ।

समितिः तपाईंले देख्दा कतिवटा हतियार थियो?

जवाफः दुइटा तीनवटा होला, त्यति याद छैन ।

समितिः हतियार छ भनेर कसरी थाहा पाउनुभयो?

जवाफः हतियार भिरिवक्सेर ।

समितिः त्यसपछि हतियार भिरेपछि तपाईं सँगसँगै जानुभयो?

जवाफः इमरजेन्सी व्याग सोधेँ मैले, बाहिर सवारी हुँदा सरकारको सामान गाडीमा हाल्ने गरेको र बेलुका खोपीमा लाने गरिन्थ्यो । इमरजेन्सी ब्याग पर्दैन भनेर भन्नुभयो । ए.डि.सी.लाई खबर गर्न म आउनु र त्यहाँ पड्कनु एकैसाथ भयो र म पछाडि आएँ ।

समितिः ए.डि.सी.लाई तपाईंले खवर गर्नु भो?

जवाफः खवर गर्न पाइन, पड्की हाल्यो ।

समितिः जाँदा जाँदै?

जवाफः हजूर ।

समितिः त्यो पड्कदा तपाईं कहाँनीर हुनुहुन्थ्यो?

जवाफः म खोपीतिर माथि नै थिएँ पड्कीए पछाडि भागेँ ।

समितिः ए, तपाईं माथि नै?

जवाफः हजूर ।

समितिः खोपीदेखि कता हुनुहुन्थ्यो?

जवाफः म एता वरै थिए ।

समितिः त्यो भर्‍याङ्गभन्दा माथि?

जवाफः त्यो टेबुल छ नी हजुर, त्यहीनिर । ढोकामा उभिइराखेको थिएँ ।

समितिः ढलेको अवस्थामा चिन्तामा वा मादक पदार्थ के मा ढलेको जस्तो लाग्यो?

जवाफः खोइ त्यो त, ढलिबक्सेको रहेछ, जुरुक्क उठिबक्स्या । त्यत्ति उ नै भएन ।

समितिः बेडिङ्गको नजिकैमा कि वलि वरै ढलेको?

जवाफः वेड नजिकै ढलेको ।

समितिः अरु केही सम्झना छ?

जवाफः छैन । त्यहाँबाट भागियो ।

समितिः शरिरमा त हतियार भिरेको देख्नुभयो, हातमा केही थियो कि थिएन रु

जवाफः हातमा याद भएन । देखिन ।

समितिः भर्‍याङ्गबाट कता जानुभयो?

जवाफः पछाडि उतैबाट फर्कें ।

समितिः पड्केपछि सरकार फर्के नफर्केको केही थाहा पाउनु भयो?

जवाफः म भागिहालें थाहा पाइन । पछाडि भागिहालें ।

समितिः अनि कुन वेला आउनुभयो?

जवाफः म त पछि आइन, पछि आउँदै आइन । पछाडि पछाडि भइहाल्यो । सैनिकहरु आइहाले होलान् भनी आउँदै आइन । पछि धेरै लाष्टमा ए।डि।सी। अफिसमा बोलाएपछि आयौं ।

समितिः ए.डि.सी. अफिसमा बोलाएर सोध्यो?

जवाफः केही पनि सोधेन ।

समितिः अरु केही सम्झना छ भन्नु पर्ने?

जवाफः केही पनि छैन ।

रामकृष्ण के.सी. (शाही अर्दली)संग पुन सोधपुछ

समितिः रामकृष्ण के.सी. जी, तपाईलाई हामीले किन बोलाएको भने अलिकति केही कुरा बाँकी भयो । ८ बजेर १९ मिनेट जाँदा तपाईलाई युवराजधिराज सरकारलाई चुरोट लगिदिनका लागि अह्राइएको थियो । त्यो चुरोट त बैठकमा पनि देखिन्छ त, किन चुरोट लान पर्‍यो? चुरोट किन लानु पथ्र्यो र चुरोट लिएर कहाँ जानुभयो?

जवाफः चुरोट अब त्यसमा खास… माल भएको चुरोट ।

समितिः माल भनेको के?

जवाफः गाँजा । गाँजा भरेको चुरोट ल्याऊ भन्नुभएको रहेछ । अनि म विलियर्ड हलको त्यो मेन ढोकामा पुगेपछि पारस सरकारलाई टक्र्याएँ । भित्रचाहीं म छिरिन ।

समितिः कुनचाहीं ढोका? पूर्वपटृीको ढोका? कतिवटा लगिदिनुभयो?

जवाफः त्यही ठूलो ढोका । त्यसमा ५–६ वटा जति थियो ।

समितिः कसले गराउने गर्थ्यो? के के हाल्ने गर्थ्यो त्यसमा?

जवाफः त्यो हामीहरुले नै बनाउने हो । त्यो गाँजा र सुर्ती मिसाएर बनाउने हो ।

समितिः ५र६ वटा पारस सरकारलाई बुझाइयो? अनि… के भनेर…?

जवाफः सरकारले हुकुम भएको भनेर… सावले भनिबक्सियो । अनि त्यहाँ गएको, पारस सरकार सवारी भयो । त्यहाँ टक्र्याएँ । …पारस सरकार हाँस्दै सवारी भयो । अनि म हातमा लिएर गएको थिएँ । मैले दिएँ । टक्र्याइबक्सियो ।

समितिः त्यो चुरोटमा गाँजा मात्रै भरिएको थियो भन्ने तपाईंलाई एकिन छ?

जवाफः त्यसमा गाँजा र अर्को कालो के हुन्थ्यो त्यो ल्याउँथें, त्यो मिसाएर भरिदिनु पथ्र्यो ।

समितिः कहाँबाट कसले ल्याउँथ्यो?

जवाफः त्यहीं नै हुन्थ्यो अब भर…

समितिः त्यहींं भनेको खोपीमै हुन्थ्यो कि?

जवाफः त्यहीं नै हुन्थ्यो, खोपीमै हुन्थ्यो ।

समितिः गाँजा तपाईंले चिन्नुहुन्थ्यो? कालो तपाईंले चिनिदैनथ्यो, कालो कति राख्नुपर्दथ्यो?

जवाफः त्यो अब हेरेर, त्यस्तै चुरोट हेरेर ।

समितिः एउटा चुरोटको खिलीमा गाँजा कति, त्यो कालो कति राखिन्थ्यो?

जवाफः त्यो त अब…. बक्सेको थियो पहिलाचाहीं । त्यो सुर्ती र उ सबै एउटामा मिलाएर हालिदिने ।

समितिः त्यो कालोको रंग अहिले देख्यो भने चिनिन्छ? पूरा कालो थियो कि अलिअलि कलेजी कलेजी थियो?

जवाफः पूरा उ त थाहा छैन । त्यो त्यहीं पनि सधैं होइन, कहिलेकाहीं त्यस्तै उ भएको बेलामा ।

समितिः त्यो दिन कुन पर्‍यो? कालो मिसिएको उ पर्‍यो कि अर्को परेको थियो?

जवाफः त्यसमा कालो मिसिएको र अर्को दुवैथरी थियो ।

समितिः लगेर पारस सरकारलाई दिनुभयो । पारस सरकारलाई बुझाउँदा युवराजधिराज सरकारले मागिबक्सेको हुनाले लिएर आएको । वहाँ पुर्‍याइदिने तपाईंले भनेको हो कि होइन ?

जवाफः मैले त्यो जाहेर गर्न मिल्दैन । म त्यो उसमा गएर बसें । म सरासर जान लागेको थिएँ, पारस सरकार हाँस्दै सवारी भयो । मैले हातमा लिएको थिएँ । मैले टक्र्याएँ । अनि पारस सरकारले लिएर सवारी भयो ।

समितिः अनि के खवर गरेर माथि खोपीमा पुग्नुभएको थियो त? चुरोट … पछि युवराजधिराज सरकार माथि … मा पुगिसकेको, कहाँबाट के खवर आएर?

जवाफः सरकार सवारी भएको थियो । … सवारी भएको छ … जानु भनेर अनि…

समितिः त्यो कहाँ छ, त्यो खोपीमा?

जवाफः त्यो खोपीमा हुन्थ्यो । सरकारले ल बनाउ भनेर बक्सिन्थ्यो अनि…

समितिः त्यसदिन तपाईले कहाँबाट बनाएर ल्याउनु भयो?

जवाफः सरकारले बक्सेको थियो ।

समितिः त्यही दिन कि बिहान?

जवाफः त्यो सरकारले बक्सेर पहिले बनाएर राख भन्नुभएको थियो, बनाएर राखेको थिएँ ।

समितिः बनाएर खोपीमा राख्नुभएको थियो?

जवाफः बनाएर आफ्नै साथमा थियो ।

समितिः त्यो बनाउन दिएको कति बेला हो?

जवाफः दिउँसो २र३ बजेतिर ।

समितिः होइन, त्यो… जान भन्दा पहिले कि ?

जवाफः पहिले नै ।

समितिः त्यो दिन कति खिली बनाउनु भनिबक्सेको थियो ?

जवाफः त्यो बक्सेको थियो ५र६ बनाइदिने हुकुम भएको थियो । ५, ६ वटा…

समितिः कुन चुरोट ?

जवाफः शिखर चुरोट ।

समितिः त्यो खाने कसले खाए भन्ने देख्नु भएन? त्यो चिज तपाईसंग छैन?

जवाफः छैन, जति वक्सिन्छ त्यही बनाएर टक्र्याउने हो ।

समितिः जति बक्स्यो ५र६ वटा बनाएर दिइहाल्नुहुन्थ्यो? त्यो भन्दा अगाडि अगाडि पनि… कति चोटी भएको थियो? कहिले एकवर्षदेखि, ६ महिनादेखि चुरोट गाँजा हालेर बनाउनुस् भनेर… कहिले शुरु गर्नुभएको थियो?

जवाफः मैले त त्यस्तै हाम्रोचाहीं अल्टरनेट ड्युटी हुन्छ । कहिलेकाँही आफ्नो ड्युटी परेको बेलामा मैले त्यस्तै २र३ पटक बनाएँ होला ।

समितिः …कति पटक?

जवाफः महिना भन्दापनि झण्डै एकवर्ष जति भयोहोला । एक वर्षदेखि पहिला बनाएको थिएँ । अहिले तीनपाली जति बनाएँ मैले, आफ्नो ड्युटीमा ।

समितिः कस्तो बेलामा माग्ने गरिबक्सिन्थ्यो?

जवाफः त्यही पार्टी भएको बेलामा वनाउँ भनिबक्सिन्थ्यो ।

समितिः अस्ति तपाईले हामीलाई जानकारी दिँदाखेरी सरकार खोपीबाट निस्केपछि मैले इमर्जेन्सी व्याग पनि लानपर्छ कि सरकार भनेर भनें भन्नुभयो तपाईंले । त्यो इमर्जेन्सी व्यागमा के के हुन्छ?

जवाफः त्यसमा अब सरकार बाहिर सवारी हुँदा त्यो वेदरप्रुफ ज्याकेट, ..चिपिस्टिक, … स्प्रे, अनि त्यो एक्स्ट्रा व्याट्रीहरु त्यस्तै नै हुन्छ । पानी ज्युनार हुन्छ ।

समितिः अनि तपाईं त्यो खोपीमा जाँदाखेरी युवराजधिराज सरकार तल उभिइरहेको देख्नुभयो कि बसिरहेको देख्नुभयो?

जवाफः ढलेको अवस्थामा ।

समितिः त्यो वेला त्यस्तो किसिमले तपाईंले बनाइसकेको…

जवाफः केही पनि देखिन ।

समितिः के मा राखेको थियो?

जवाफः त्यो सरकारको बट्टामा, चुरोटको…

समितिः तपाईलाई बटृाको रंग याद छ, कलर?

जवाफः त्यो चाहीं याद भएन । त्यो दिन त मैले त्यही चुरोटको बटृामा नै टक्र्याएको हो । तर सरकारले अर्कै बोकिबक्सेको हो बटृा । अब कालो पोशाक भएको बेलामा कालै बटृा, खैरो भएको बेलामा खैरो बटृा लिइबक्सिन्थ्यो चुरोटको ।

समितिः अब फेरि चाहियो भने बोलाउँला है!

(नारायणहिटी राजदरबारको २०५८ जेठ १९ को घटना सम्बन्धमा गठित उच्चस्तरीय समितिको प्रतिवेदनबाट साभार ।)