माओवादीले समर्थन फिर्ता लिने निर्णय गरेसंगै कोशीका मुख्यमन्त्री कार्की परे अल्पमतमा
काठमाडौं— नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिने निर्णय गरेपछि नियुक्तिको पाँच महिनामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की अल्पमतमा परेका छन् ।
एमाले संसदीय दलका नेता कार्की माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा गत पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । नियुक्तिको ठिक पाँच महिनापछि जेठ २३ गते माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनी अल्पमतमा परेका हुन् ।
मुख्यमन्त्री अल्पमतमा परेपनि उनलाई विश्वासको मत लिन र कांग्रेस–माओवादीसहितको गठबन्धनलाई नयाँ सरकार बनाउन सहज अंकगणित (बहुमत) छैन । एमाले नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको माओवादी केन्द्रले आफ्नै नेतृत्वमा गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको माओवादी केन्द्र कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ्ले बताए । प्रदेश कार्यालयको बैठकले नेम्वाङको संयोजकत्वमा छलफलका लागि समिति गठन गरेको हो ।
राष्ट्रपतिको निर्वाचनपछि केन्द्र र ६ वटा प्रदेशमा नयाँ समीकरण बने पनि कोशी प्रदेशमा भने पुस १० गतेको सहमतिकै सरकार थियो । जसपा र माओवादी केन्द्रले सरकार नछाडेका कारण मुख्यमन्त्री ढुक्क थिए । तर १७ फागुनमा प्रदेशको नाम राखेपछि सुरु भएको पहिचानको आन्दोलनले उग्र रुप लिएपछि सरकारमा रहेको जसपालाई सरकारबाट बाहिरिन बाध्य बनायो ।
पहिचान आन्दोलनलाई सम्बोधन गर्न चासो नदेखाएको भन्दै जसपाले गत जेठ १६ गते सरकारबाट बाहिरिने निर्णय गरेको थियो । जसपाको निर्णयका कारण दबाबमा परेको माओवादी केन्द्रले कुनै निर्णय गरेको थिएन् । भारत भ्रमण सकेर फर्किएका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले सरकार छाड्न निर्देशन दिएपछि माओवादी पनि सरकारबाट बाहिरिएको हो । बजेटको मुखमा माओवादीले सरकार छाडेपछि प्रदेशको बजेट र नीति तथा कार्यक्रम पनि अन्योलमा परेको छ ।