प्रधानमन्त्री प्रचण्ड वास्तविक कम्युनिष्ट भएको रामदेवको दाबी
काठमाडौँ – योगगुरु स्वामी रामदेवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वास्तविक कम्युनिष्ट भएको दाबी गरेका छन्। मंगलबार खप्तड सुरु भएको प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा बोल्दै रामदेवले यस्तो दावी गरेका हुन् ।
सम्मेलनलाई सम्बोधन गर्दै योग गुरु रामदेवले आफू खप्तडको विकास र प्रचार तथा प्रवर्द्धनको लागि ब्राण्ड एमबेस्डर बन्न इच्छुक रहेको बताए। साथै प्रधानमन्त्री दाहालको निकै प्रशंसा गरेर रामदेवले दाहाललाई शान्ति र क्रान्तिका नायक भएको समेत बताए।
उनले प्रधानमन्त्री दाहाललाई वास्तविक कम्युनिष्ट भएकोसमेत दाबी गरे। आजबाट सुरु भएको सम्मेलनमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमल शाह, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, एमाले नेता भीम रावललगायतको सहभागिता रहेको छ। सम्मेलन तीन दिनसम्म चल्ने छ।
सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले खप्तड क्षेत्रलाई पर्यावरणमैत्री बनाउँदै पर्यटन र आध्यात्मिक केन्द्रका रूपमा विकास गर्न पहल गर्ने बताए। उनले यसका लागि सबैसँग सहकार्य गर्ने बताए।
सुदूरपश्चिमको विकास र समृद्धिका लागि गेटामा विश्वविद्यालय निर्माणदेखि भारत भ्रमणका क्रममा गरिएका समझदारीसम्ममा आफूले पहल गरेको र गर्दै जानेसमेत बताए। उनले नयाँ संरचनासहित खप्तडको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए।
तीन दिनसम्म चल्ने सम्मेलनमा भारतका धार्मिक तथा योगगुरु रामदेव, आयुर्वेदविज्ञ आचार्य बालकृष्ण सहभागी रहेका छन्। योगगुरु रामदेव पश्चिमी नाका गड्डाचौकीबाट खप्तडका लागि नेपाल प्रवेश गरेका थिए। त्यहाँ उनलाई ढाका टोपी लगाएर स्वागत गरिएको थियो। लगत्तै उनि धनगढीबाट हेलिकप्टरमा खप्तड पुगेका थिए।