प्रधानन्यायधीश हरिकृष्ण कार्कीविरुद्ध जेठ ३२ गते सुनुवाइ हुने

सोमबार, २९ जेष्ठ २०८०

काठमाडौं – प्रस्तावित प्रधानन्यायधीश हरिकृष्ण कार्कीविरुद्ध जेठ ३२ गते सुनुवाइ हुने भएको छ। उनलाई बोलाएर सुनुवाइ हुने एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिएका छन्। अबको ४ दिनभित्र प्रधानन्यायाधीश कार्कीबारे टुंगो लाग्ने छ, उनले भने। जेठ ३१ मा सुनुवाइ समितिले उजुरीकर्तालाई बोलाएर छलफल गर्ने कार्यतालिका तय गरेको छ। असार १ गते कार्कीबारे टुंगो लाग्ने पनि बर्तौलाले बताए।

सोमबार सिंहदरबारमा बसेको सुनुवाइ समितिको बैठकले कार्कीविरुद्धको सुनुवाइको मिति टुंगो गरेको हो। ३१ गते कार्कीलाई बोलाएर सुनुवाइ हुनेछ। उनीविरुद्ध २९ वटा उजुरी परेका छन्।

अधिकांश उजुरीमा संवैधानिक परिषद्सम्बन्धी कानुन रिक्तता भइरहेका बेला सिफारिस गरिएकाले त्रुटिपूर्ण काम भएको उल्लेख छ। वैशाख २५ को संवैधानिक परिषदको बैठकले कायममुकायम प्रधान न्यायाधीश कार्कीलाई प्रधान न्यायाधीशका लागि सिफारिस गरेको थियो। जेठ १७ देखि १० दिनको समय दिएर कार्कीविरुद्ध उजुरी आह्‍वान भएको थियो। कार्कीको कार्यकाल साउन २९ सम्म कायम रहने जनाएका छन् ।