बालेनले गरे सूचनाप्रविधि मन्त्रालयलाई पत्राचार, ‘आदीपुरुष’को विवादित अंश नहटाएसम्म भारतीय चलचित्र प्रदर्शन गर्न नदिउँ

शुक्रबार, १ असार २०८०

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दक्षिण भारतीय चलचित्र, ‘आदीपुरुष’मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश मूल भागबाट नहटाएसम्मे नेपालमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न नदिने व्यवस्था मिलाउन सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयलाई पत्राचार गरेका छन् ।

उनले शुक्रबार मन्त्रालयलाई पत्र लेख्दै उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म नेपालमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न निषेध गर्ने गराउने व्यवस्था गर्न भनेका हुन् । नेपाल सरकारले छिमेकी मित्रराष्ट्र भारतसँग कूटनीतिक पहल गरी उक्त चलचित्रको आपत्तिजनक अंश हटाउने व्यवस्था मिलाउन मेयर शाहले ध्यानाकर्षण गराएका छन् ।