नेकपा सिन्धुपाल्चोकको विशेष विस्तारित बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न

आइतबार, ३ असार २०८०

काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोक जिल्लाको विशेष विस्तारित बैठक सम्पन्न भएको छ । पार्टीका ब्युरो इन्चार्ज विकल्प सीको प्रमुख आतिथ्यतामा चौतारा न.पा.–१३ ठूलोसिरुबारीमा बसेको बैठकको अध्यक्षता पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य एवम् जिल्ला सेक्रेटरी युगीन सीले गरेका थिए ।

उक्त बैठकमा जिल्ला इन्चार्ज किरण सी, केन्द्रीय सल्लाहकार सदस्य यादव सी, तामाङ राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय संयोजक प्रेरक सी, केन्द्रीय प्रतिनिधि समितिका सदस्य प्रताप सी लगायत अथितिहरू थिए । अखिल (क्रान्तिकारी) का ब्युरो इन्चार्ज दयाराम सी, अ.ने.म.संघ क्रान्तिकारीका व्यूरो संयोजक पवित्रा सी लगायत जिल्ला कमिटीका सदस्य र आमन्त्रित सदस्यहरुको उपस्थिति रहेको थियो ।

केन्द्रीय सदस्य एवम् ब्युरो इन्चार्ज विकल्प सीले केन्द्रको एकता विशेष बैठकका निर्णयहरुलाई एकरूपतामा सम्प्रेषणको साथै बैठकलाई दिशानिर्देश गरे । त्यसको आधारमा बैठकले जिल्लामा योजना समेत निर्माण गरेको छ । उनले एकीकृत जनक्रान्तिलाई सफलतापूर्वक सिन्धुपाल्चोक जिल्लामा कार्यान्वयन गर्न आवश्यक पर्ने क्षमता विकास गर्न जोड दिए । यसका निम्ति सबै गम्भीर हुनुपर्छ भन्दै नयाँ प्रगतिको निम्ति शुभकामना दिए ।

केन्द्रीय सल्लाहकार यादव सीले बैठकलाई सम्बोधन गर्दै नयाँ युगको सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्न लाग्नुपर्ने बताए । कम्युनिष्ट पार्टीले जहिल्यै पनि अनुशासन र पद्धतिलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्ने उनले बताए । तामाङ राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय संयोजक प्रेरक सीले पार्टी निर्माणकाबारे प्रशिक्षण दिए । जिल्ला इन्चार्ज किरण सीले हालसम्मको समीक्षात्मक मन्तव्य राख्नुको साथै सेक्रेटरी युगिन सीले राखेका प्रस्ताव तथा योजनाहरूको व्याख्या गरे ।

त्यसैगरी केन्द्रीय जनप्रतिनिधि समितिका सदस्य तथा ब्यूरो कार्यालयका प्रताप सीले निशर्त बलिदानी भावका साथ क्रान्तिमा लाग्ने कार्यकर्तालाई उच्च सम्मानको दृष्टिले हेर्नुपर्ने बताए । बैठकले ध्रुवीकरण प्रक्रियाबाट समाहित हुने जिल्ला कमिटी सदस्यहरु सविन, अमर र लक्ष्मीले प्रतिबद्धता मन्तव्य राखेका थिए । साथै उनीहरुको जिम्मेवारी पनि ठोस गरेको छ ।

अन्तिममा बैठकले लिएका दूरगामी निर्णयहरुलाई जुनसुकै मूल्य चुकाएर भएपनि परिणाममा बदल्ने संकल्प र प्रतिबद्धता व्यक्त गर्दै सेक्रेटरी युगिन सीले बैठकको समापन गरे । यसैबीच चौतारा न.पा.-१ ३को श्री सेती देवी मा।वि। मा ‘पच्चीस हजार बिरुवा वृक्षारोपण अभियान’ लाई ब्युरो इन्चार्ज विकल्प सी ले वृक्षारोपण गरी शुभारम्भ गरे ।