भारत भ्रमणमा डुबानसम्बन्धी समस्या प्राथमिकतामा नपरेको भन्दै सत्तारूढ दलका नेताहरू असन्तुष्ट

मंगलबार, ५ असार २०८०

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा डुबानसम्बन्धी समस्या समाधानको विषय प्राथमिकतामा नपरेको भन्दै सत्तारूढ दलका नेताहरूले असन्तुष्टि जनाएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबारको बैठकमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले असन्तुष्टि जनाएका हुन् ।पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भारतले ठूलो बाँध बाँधेका कारण नेपाली भूमिमा डुबानको समस्या भएको उल्लेख गरे । समस्या समाधानका लागि प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा गम्भीरताका साथ कुरा नभएको गुनासो उनले गरे ।

उनले डुबानबाट नेपालले ठूलो क्षति व्यहोर्नु परिरहेको बताए । त्यसबारे नेपाल सरकारले भारतसँग गम्भीरतापूर्वक कुरा राख्नुपर्नेमा उनले जोड दिए । बैठकमा नेता निधिले पनि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा डुबानको समस्या समाधानको विषयले प्राथमिकता नपाएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनले सो समस्या समाधानका लागि दुवै मुलुकबीच भएको सन्धि, सम्झौता र अन्तर्राष्ट्रिय कानुनको ख्याल गर्नुपर्ने आवश्यकता औँल्याए । भारतले रोडका नाममा बाँध बनाउने र त्यसको मारमा नेपाल पर्नुपर्ने अवस्था आएको उनले उल्लेख गरे । नेता निधिले त्यसको अन्त्यका लागि सरकारले भारतसँग गम्भीरतापूर्वक छलफल अघि बढाउनुपर्नेमा जोड दिए ।