गगन थापाले गरे वर्तमान सत्ता गठबन्धन बदलिएर नयाँ सरकार बन्ने संकेत

शनिबार, ९ असार २०८०

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बर्तमान कायम रहेको सत्ता गठबन्धन बदलिने संकेत गरेका छन् ।

काठमाडौंमा (४) को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु नौलो कुरा नभएको बताउदै अहिलेको गठबन्धनले चित्त बुझ्ने गरी काम नगरे  सत्ता गठबन्धन फेरिने र नयाँ सरकार बन्ने संकेत गरेका हुन् ।

हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ । नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन । बन्छ, भत्किन्छ
भइराख्छ,’ उनले भने ।

उनले अहिले केही कम्युनिस्टहरू मिलेर समाजवादी मोर्चा बनाएको बताउँदै त्यसमा एमाले मिसिए पनि कांग्रेसलाई फरक नपर्ने बताए ।

उनले नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको पनि बताए ।

उनले सरकार छोड्न परे पनि नडराइकन एक्ला एक्लै चुनाव लड्न कांग्रेस तयार हुनुपर्ने बताए ।

‘चुनावमा लागेको एउटा व्यक्ति ज्यान गुमाउन तयार छ तर सरकार गुमाउन तयार भएनौँ,’ थापाले भने, ‘के हुन्थ्यो कम्युनिस्ट पार्टी मिलेर ?  १० वर्ष सरकार चल्थ्यो, चलोस्, समाजवादीमा एमाले पनि थपियोस्, चलोस्, एक्लै लड्छ काँग्रेस ।’