सियो र कैँचीमा कुन ठूलो ?
काठमाडौं – एक सूचीकारका छोरा कक्षा चारमा पढ्दै थिए । उनी हरेक दिन विद्यालय जान्थे र मिहिनेतसाथ पढ्थे । उनका पिता गाउँका एक नामी सूचीकार थिए । उनी बडो मिहिनेतसाथ आफ्नो काम गर्थे । गाउँलेहरू नयाँ लुगा सिलाउनुपर्दा उनैलाई खोज्थे । एक दिन बालकको विद्यालय बन्द थियो । उनी पितासँगै पसलमा गए । पसलमा पुगेपछि उनी यताउता हेर्दै खेल्न थाले ।
उनका पिता लुगा काँटछाँट गरी सिलाइमा व्यस्त भए । जब–जब सूचीकार लुगा काट्थे, उनी चकटीमुनिबाट कैँची निकाल्थे । काटिसकेपछि पुनः त्यसलाई बडो जतनसाथ त्यही चकटीमुनि घुसार्थे । त्यसैगरी उनी जब–जब लुगा सिउँथे, सिइसकेपछि सियोलाई आफ्नो टोपीमा सिउरिन्थे । बालकले यो दृश्य पटक–पटक देखे । उनको मनमा बडो खुल्दुली उत्पन्न भयो । बुबाले सियोलाई टोपीमा र कैँचीलाई चकटीमुनि किन घुसारिरहेका होलान् भन्ने उनको मनमा प्रश्न उब्जियो । उनी बिस्तारै पिताको नजिक गए र मसिनो स्वरमा भने– बुबा १ के म हजुरलाई एउटा प्रश्न गर्न सक्छु रु पिता कमिजमा टाँक लगाउँदै थिए ।
छोराको जिज्ञासा सुनेपछि काम टक्क रोकेर उनले छोरातिर पुलुक्क हेरे र भने– मलाई केही सोध्न पनि तिमीले अनुमति लिइरहनुपर्छ त रु सोध न, जे सोध्न चाहन्छौ । बालकले भने– हजुरले प्रत्येकपटक कपडा काटेपछि कैँचीलाई चकटीमुनि घुसार्नुभयो भने सियोलाई चाहिँ काम सकिएपछि टोपीमा सिउरिनुभयो ।
यसको रहस्य के हो रु छोराको प्रश्न सोधेपछि पिता मुसुक्क मुस्कुराए र भने– बाबु, कैँचीले जहिल्यै अरूलाई काट्छ, छुट्याउँछ । त्यसैले, अरूलाई काट्ने या अलग गर्नेको स्थान जहिल्यै तल हुन्छ । त्यसैगरी, सियोले जहिल्यै अरूलाई जोड्छ । अरूलाई जोड्नेको स्थान भने जहिल्यै माथि हुन्छ । त्यसैले, म जहिल्यै कैँचीलाई आफूभन्दा तल र सियोलाई आफ्नो शिरमा राख्ने गर्छु ।बालक सानै थिए । तर, उनले पिताको भनाइबाट निकै ठूलो र गहन शिक्षा प्राप्त गरे ।