अस्तित्व रक्षाको संकटमा फेकन
काठमाडौं – स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) शैक्षिक परामर्श क्षेत्रको दोश्रो ठूलो छाता संगठन हो । नेपालमा प्रचलित ८ वटा संगठनहरुमा इक्यानपछिको ठूलो फेकनलाई जापानको मात्र काम गर्ने व्यवसायीहरुको संगठन जाल्सानले काउण्टर दिइरहेको छ ।
नेपालको जेठो र सबैभन्दा ठूलो नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले साना व्यवसायीहरूलाई महत्व नदिएको, नेतृत्वले आफ्ना एजेण्डाहरूको बारेमा चासो नदिएको, अस्ट्रेलिया, न्युजिल्याण्डबाहेक काम गर्ने व्यवसायीलाई परामर्श व्यवसायीको मान्यता नदिएको भन्दै फेकनको स्थापना भएको थियो । फेकन खुलेपछि इक्यानले उनीहरुले लगाएका आरोपहरूलाई सम्बोधन गर्दै साझा संस्थाको रुपमा रुपान्तरण गरिसकेको छ ।
युवाहरूको समूहले खोलेको फेकन १०औं बार्षिक साधारण सभासम्म आउँदा झण्डै दुई सय जनालाई सदस्यता दिइसकेको थियो । १०औं बार्षिक साधारणसभा पछि फेकन कमजोर बनाएको छ । अध्यक्षले उपाध्यक्ष र कोषाध्यक्ष च्यापेर हिड्ने, महासचिवले दुई जना सचिवलाई च्यापेर गुटवन्दी गर्दा संस्था कमजोर बनेको फेकनीयनहरुको आरोप छ । उनीहरुको गुटबन्दीमाथि अरु संगठनहरूको पनि हस्तक्षप बढेपछि अस्तित्व रक्षाको लडाईमा छ फेकन ।
अघिल्लो निर्वाचनमा उपाध्यक्ष बासु नेपाल र महासचिव भूपाल तामाङबिच कडा प्रतिस्पर्धा भएको थियो । झिनो मतले जितेका नेपालले पूर्वअध्यक्ष युवराज कटुवाल र उपविजेता बनेका तामाङलाई मिलाएर लान नसक्दा, चुनावमा कटुवालले गरेको असहयोगलाई इगोका रुपमा कार्यकालभर प्रतिशोध साच्दा, अध्यक्ष र महासचिवले अस्वभाविक गुटबन्दी गर्दा संस्थाको भविष्य अन्योल बनेको छ । यो पटकको निर्वाचन पश्चात फेकनको अस्तित्व सकिने सम्भावना बढेर गएको छ । उनीहरुको आन्तरिक लडाईले साना र मसिना कामहरु पनि बन्न छोडेका छन् ।
महासचिवको कार्यक्षेत्रभित्र पर्ने संगठन धोस्त भएको छ । आधाभन्दा कम सदस्यले आफ्नो सदस्यता नविकरण गरेका छैनन् भने नयाँ सदस्यहरुको बारेमा कुनै जानकारी गराइएको छैन । झण्डै २ सय सदस्य रहेको फेकनमा सोमबार विहानसम्म १ सय ८ जनाले मात्र नविकरण गरेका छन् । यो तथ्याङ्क महासचिव राजु निरौलाका लागि लज्जास्पद हो । संस्थामा अध्यक्ष र महासचिव कार्यकारी हुन्छ । महासचिवले आफ्नो कार्यक्षेत्रको काम गर्न नसक्नु उसको असफलता हो । अध्यक्षले महासचिवलाई चलाउन नसक्नु नेतृत्व क्षमताको कमि हो ।
अध्यक्ष र महासचिवबिच बिवाद हुँदा उपाध्यक्ष हेमन्त दुलालले संगठन बिभागकाे जिम्मेवारी लिएका थिए । अधिकार सम्पन्न महासचिवले गर्नुपर्ने संगठन बिभागकाे काम उपाध्यक्षकाे टाउकाे आएपछि संस्थामा झनधेरै बिबाद उत्पन्न भएको थियाे ।
अघिल्लो कार्यकालमा महासचिव रहेका तामाङले आफ्नो कार्यक्षमता र नेतृत्व क्षमता प्रस्तुत गर्दै फेकनलाई एक ढिक्का बनाएका थिए । तत्कालिन अध्यक्ष युवराज कटुवालको डाइनामिक लिडरसिपका कारण फेकनलाई (फेक–अन) भन्दै व्याङ्ग्य गर्नेहरूलाई झुकाएका थिए । राज्यका सम्यन्त्रहरूमा फेकनको उपस्थिति दरिलो बनाएका थिए भने राज्यले गर्ने गलत निर्णयका विरुद्धमा सशक्त प्रतिरोध गरेका थिए । यस क्षेत्रसँग सम्बन्धित विदेशी नियोगहरू फेकनलाई बजारको एउटा हिस्साको रुपमा स्वकार गर्ने स्थितिमा पुगेका थिए ।
१२औं साधारसभासम्म आइपुग्दा फेकनका यी उपलब्धिहरू पनि प्रभावित भएका छन् । ‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका २०७९’ का विषयमा फेकनले आफ्नो स्ट्याण्ड राख्न सकेन । संस्थागत रुपमा पहलकदमी लिन नसक्दा फेकनका पूर्वअध्यक्ष सबै छाता संगठनमाथि हाबी हुन पुगे । निर्देशिकामा भएका केही प्रावधानहरू हटाएर निर्देशिका कार्यान्वयन गराएको भन्दै कटुवालले जस लिए । अध्यक्षले चाहेको भए यसको जस फेकनले लिनसक्ने सम्भावना थियो । फेकनमा माओवादी केन्द्र निकट व्यवसायीहरूको बाहुल्यता हुँदा पनि त्यसको उपयोग गर्न नसक्नु अध्यक्ष नेपालको कमजोरी मान्न सकिन्छ ।
फेकनमा सदस्यता नविकरण नहुनुको अर्को कारण हो नेतृत्वप्रति भरोसा नहुनु । विद्यार्थीको पैसा ठगेर बदनाम बनेका सुदिर खड्कालगायतलाई नेतृत्वले संरक्षण गर्नु, कोभिडका कारण चुर्लुम्म डुवेका व्यवसायीहरूलाई सहयोग नगर्नु, मर्दापर्दा संस्थाको नेतृत्वको आड भरोसा गर्छ भन्ने मान्यतालाई तिलान्जली दिदै संस्थाप्रति वितृष्णा फैलिनु, पार्टीगत राजनीति मौलाउनु, फेकनलाई इक्यानको शाखा जसरी चलाउनु, संस्थामा बाहिरी हस्तक्षप बढ्नु लगायतका कारणले संस्था प्रति व्यवसायीहरुको विश्वास टुटेको छ ।
तर फेकनले आफ्नो सदस्यता नविकरण गर्न चाहनेहरूका लागि मौका दिएको छ । विगत दुई बर्षदेखि नविकरण नगरेका व्यवसायीहरुका लागि फेकनले यो पटक अवसर दिएको हो । आगामी सोमबारसम्म नविकरण गर्ने व्यसायीहरूले मतदानको अवसर प्राप्त गर्नेछन् । यो अवसरलाई सदुपयोग गर्दै अध्यक्षका उम्मेदवारहरुले सदस्यता नविकरण गरिदिएर आफ्नो भोट सुरक्षित गरिरहेका छन् । फेकनका सदस्यता नविकरण गर्न एक बर्षका ५ हजार रुपैयाँ शुल्क बुझाउनु पर्छ । उम्मेदवारहरुले आफै पैसा तिरेर सदस्यता नविकरण गरिरहेका छन् । ५० भोटले जित निकाल्न सकिने भएकाले उनीहरु सदस्यता नविकरणलाई हतियार बनाएका छन् ।
व्यवसायीहरुले फेकनलाई लयमा फर्काउन कटुवालको आवश्यकता खट्किएको बताउने गरेका छन् । केही व्यवसायीहरुले विद्यान संशोधन गरेर कटुवाललाई फेरी अध्यक्ष बनाउने र संस्थालाई लयमा आएपछि चुनाव गर्नेसम्मको योजना बनाएका छन् भने केहिले प्रज्वल बस्नेतको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेर संस्थालाई बलियो बनाउनुपर्ने धारण राखेका छन् । एकताबद्ध बन्नका लागि अध्यक्षमा बस्नेत, बरिष्ठ उपाध्यक्षमा राजु निरौला, उपाध्यक्षमा हेमन्त दुलाल र दिपक सिलुवालका विषयमा छलफल भइरहेको छ । महासचिवमा छवि ओझा र उमेश कुशवारमध्ये एउटा, सचिवमा इन्द्रजित गौतम र अनिल शर्मा तथा कोषाध्यक्षमा दिपेन्द्र पोखरेललाई प्रस्ताव गरेका छन् । केहिले सर्वसम्मतका लागि ७ प्रदेशमा ७ उपाध्यक्ष र ७ सचिव बनाएर मिलाउने प्रयास पनि गरिरहेका छन् । तर राजु निरौला समूह सर्वसम्मत् गर्न तयार नभएकाले चुनाव हुने लगभग निश्चित छ ।