इक्यान निर्वाचन : विष्णुहरी पाण्डेले जित्दा धरौटी रोक्ने, शाखा खोल्न पाउने अधिकार सुनिश्चित

बिहिबार, १४ असार २०८०

काठमाडौं – शैक्षिक परामर्श क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ नेतृत्वका लागि आगामी असार ३० गते निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा सर्वसम्मत् नेतृत्व चयन गर्नेगरी गृहकार्य चलिरहेको छ । अध्यक्षका लागि चार जनाले उम्मेदवारी घोषणा गरेपनि सर्वसम्मत् नेतृत्व चयनका लागि प्रयास भइरहेको हो ।

इक्यानका पूर्वअध्यक्ष विष्णुहरी पाण्डेले केही बर्षपछि इक्यानमा नेतृत्व संकट देखिने भन्दै आफ्नो पक्षमा सर्वसम्मत् गर्न अपिल गरेका छन् । ‘अहिले चार जना नेतृत्वका लागि लडिरहेका छौं । केही बर्षपछि नेतृत्वको खडेरी देखिने सम्भावना छ ।’, मोटिभेट न्यूजसँगको भेटमा उनले भने, ‘मेरा नाममा सर्वसम्मत् गर्दा अरु तीन जनालाई उपाध्यक्ष बस्न केही आपत्ति हुँदैन । सबैलाई शक्तिशाली विभाग बनाएर काम गर्ने अवसर दिन्छु भनेको छु । मेरो अघिल्लो नेतृत्वमा पनि मैले सबैलाई मिलाएर काम गरेको थिएँ ।’

उनले आफ्नो नाममा सर्वसम्म्त नभए चुनाव लड्ने अडान लिएका छन् । केही दिनभित्र प्यानल घोषणाको तयारी गरिरहेका उनले व्यवसायीहरुलाई आफ्नो एजेण्डका बारेमा बताइरहेका छन् । उनले आफू निर्वाचित भएको खण्डमा २० महिनामै नेतृत्व हस्तान्तरण गर्ने, हरेक तीन महिनामा पत्रकार सम्मेलन गरेर प्रगति विवरण सार्वजनिक गर्ने, ६ महिनाभित्र इक्यानको घर खरिदका लागि काम सुरु गर्ने, घरको किस्ता तिर्नका लागि स्थायी श्रोतको व्यवस्था गर्ने बताएका छन् ।

साथै पाण्डेले तालिम र व्यवसायीक विकासमा जोड दिने, इक्यानका शाखालाई आर्थिक अधिकार दिएर सम्पन्न बनाउने, इक्यानलाई नेता संगठनको रुपमा विकास गर्ने, सरकारसँगको लभिङ पछि धरौटी रोक्ने र जिल्लाहरुमा शाखा खोल्ने अधिकारी सुनिश्चित गर्ने योजना रहेको बताएका छन् । उनले ‘इक्यान फर इण्डिस्ट्रिज’को नारासहित चुनावि मैदानमा होमिने योजना रहेको सुनाए ।

‘मेरो पहिलो काम इक्यानलाई सिस्टममा चलाउने हुन्छ । म अघिल्लो पटक निर्वाचित हुँदा २० महिना काम गर्ने अवसर पाएको थिएँ । अहिले त २० महिनाको पनि समय छैन् ।’, उनले भने, ‘निर्वाचित भएको ६ महिनामा बार्षिक साधारणसभा गर्नपर्ने हुन्छ । त्यसको १ बर्ष पछि नेतृत्व हस्तान्तरण गर्नपर्ने हुन्छ । मेरो कार्यकाल १ बर्ष ६ महिनाको हुन्छ । त्यो समयमा इक्यान अहिलेभन्दा फरक ठाउँमा हुन्छ ।’

उनले इक्यानलाई अन्तराष्ट्रिय रुपमा परिचित गराउने योजना रहेको सुनाए । ‘मेरो अघिल्लो कार्यकालमा बंगलादेशको फिडक्यावसँग सम्झौता गरेर काम गरेजस्तै अरु देशमा संगठनहरुसँग पनि कार्यगत मित्रता बढाउने योजजना छ ।’, उनले भने । साथै, पाण्डेले वैदेशिक लगानीमा संचालित कम्पनीहरू र एड टेक (अनलाइन) संस्थाहरुलाई बन्द गरेर व्यवसायलाई सुन्दर बनाउने योजना रहेको बताए ।