काठमाडौं महानगरले पठायो ६८ सहकारीलाई कारबाही गर्न प्रहरीलाई पत्र

बुधबार, २० असार २०८०

काठमाडौं— काठमाडौं महानगरपालिकाले ६८ वटा सहकारी संस्थाहरुलाई कानुनी कारबाहीको लागि प्रहरीलाई पत्र काटेको छ ।

बचतकर्ताले दिएको उजुरीका आधारमा महानगरले २०७२ सालदेखि २०८० असारसम्म गरेर करिब २ हजार ७०० जना बचतकर्ताको १ अर्ब २१ करोड ३८ लाख रुपैयाँ हिनामिना गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा कारबाहीको लागि पत्र पठाएको हो । महानगरको सहकारी विभागका अनुसार २०७२ र ०७४ सालमा १र१ वटा, ०७५ सालमा दुई वटा, ०७६ सालमा ५ वटा, २०७७ सालमा ११ वटा र ०७८ सालमा १८ वटा सहकारीबाट बचतकर्ताका रकम हिनामिना भएको भन्दै प्रहरीलाई पत्र काटिएको थियो । त्यसयता भने सहकारीले रकम अपचलन गरेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । २०७९ यता मात्रै ३० वटा सहकारीले ३३ करोड ६३ लाख रकम हिनामिना गरेको विभागले जनाएको छ ।

महानगरले प्रहरीलाई पठाएको पत्रका अनुसार महानगरको कार्यक्षेत्रभित्र पर्ने सहकारीमध्ये गृहशान्ति बचत तथा ऋण सहकारी संस्थाले सबैभन्दा धेरै ३९ करोड ११ लाख रुपैयाँ हिनामिना गरेको छ । त्यसपछि अस्मोसिस बचत तथा ऋण सहकारी संस्थाले ७ करोड ५४ लाख रुपैयाँ अपचलन गरेको देखिएको छ । यस्तै ३ करोडमाथि बचत अपचलन गरेको भन्दै कारबाहीका लागि सिफारिस गरिएका सहकारीहरुमा हलमार्क बचत तथा ऋण सहकारी संस्था, मानापाथी बचत तथा ऋण सहकारी संस्था, अभिमत बचत तथा ऋण सहकारी संस्था, नव संकल्प बचत तथा ऋण सहकारी संस्था, जिलेट बचत तथा ऋण सहकारी संस्था र पर्फेक्ट बचत तथा ऋण सहकारी संस्था छन् ।

संख्याका हिसाबले आरक्ष ऋण तथा बचत सहकारी संस्थामा सबैभन्दा धेरै ५८८ जना बचतकर्ताले रकम फिर्ता नपाएको उजुरी परेको महानगरले जनाएको छ । उनीहरुले २ करोड ५० लाख रुपैयाँ दाबी रकम सहित गुनासो आएपछि महानगरले प्रहरीलाई कारबाही गर्न पत्र लेखेको थियो । त्यस्तै दोस्रोमा द नेक्स्ट सहकारी संस्थाले बचत फिर्ता नगरेको भन्दै २४४ जनाले उजुरी दिएका छन् । उनीहरुले १ करोड ८२ लाख रुपैयाँ बचत फिर्ता नआएको दाबी गरेका छन् । मध्यविन्दु बचत तथा ऋण सहकारीमा १७७ जना र नवसंकल्पमा ११३ जनाले बचत फिर्ता नभएको भन्दै उजुरी दिएका छन् । त्यहीअनुसारको पत्र महानगरले प्रहरीलाई पठाएको छ ।